बुद्धकालीन गुरु चेलाको भुटानमा पुनर्मिलन

बुद्धकालीन गुरु चेलाको भुटानमा पुनर्मिलन

साहसी खबर
6 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रज्वल भण्डारी

बोधिसत्व स्वामी आनन्द अरुणले भुटानमा आफ्ना बुद्धकालीन गुरु भेट्नु भएकाे छ । भुटानको राजपरिवारमा जन्मिनु भएका वैरोचन रिन्पोचेले आफु तत्कालीन गौतम बुद्धका भाई ‘ आनन्द ‘ भएको र त्यस समयमा स्वामी आनन्द अरुण आफ्नो शिष्य रहेको बताउनु भयो ।

भुटान सरकारद्वारा आयोजित अन्तराष्ट्रिय ध्यान सम्मेलनमा ओशो शिष्य रहनुभएका बोधिसत्व स्वामी आनन्द अरुणलाई प्रमुख अतिथिकाे रूपमा निमन्त्रणा गरिएको थियो। ध्यान सम्मेलन ३ देखि ६ जुन २०२५ सम्म चलेको थियो जहाँ ८०० सहभागीहरू माझ स्वामी आनन्द अरुणले ध्यानको महत्व बारे सारगर्भित प्रवचन सहित ध्यानको प्रयोगहरू पनि गराउनु भएको थियो।

उक्त सम्मेलनका दौरान एक विशेष अन्तरंग भेटमा स्वामी आनन्द अरुण र वैरोचन रिन्पोचे बीच कुराकानी हुने अवसर मिलेको थियो। बुद्ध धर्मको प्रवर्द्धन राष्ट्र भुटानको राजपरिवारमा जन्मिनु भएका वैरोचन रिन्पोचे केवल ११ वर्षको हुनुहुन्छ तर उहाँमा आफ्ना विभिन्न जन्मका स्मृतिहरु छन् । यस पूर्व उहाँले आफू तिब्बतमा पद्मसम्भवकाे समयमा साथै बुद्ध ग्रन्थहरूको अनुवादक ‘ बोधिसत्व वैरोचन ‘ रहेको जानकारी दिनुभए पश्चात उहाँलाई वैरोचन रिन्पोचे भन्न थालिएको हो ।

रिन्पोचेले स्वामी आनन्द अरुणलाई आफ्नो अनुभव बाट धर्मको प्रचार कसरी गर्दा उपयुक्त हुन्छ भनेर जिज्ञासा गर्नुभएको थियो । यति उच्च चेतनाको व्यक्तिलाई मैले के सिकाउन सकौंला जस्तो लागेर ती विनम्र रिन्पोचेलाई स्वामी आनन्द अरुणले बुद्धका विभिन्न ग्रन्थहरू ( एस् धम्मो सनन्तनो, डायमण्ड सुत्र, हार्ट सुत्र, डिसिप्लिन अफ ट्रान्सन्डेन्स आदि ) माथि ओशोले दिनुभएका प्रवचन श्रीङ्खलाहरुकाे सम्पूर्ण संग्रह पेनड्राइभमा दिनुहुँदै भगवान बुद्ध र ओशोले स्वयं उहाँलाई मार्गनिर्देशन गर्नुहुने विश्वास व्यक्त गर्नुभयो।

समयको आवश्यकता अनुसार विभिन्न समयमा धम्मको प्रचार गर्न अवतरित भईरहनु भएका यी बोधिसत्व वैरोचनलाई स्वामी आनन्द अरुणले जिज्ञासा राख्नु भयो ‘ यदि पद्मसम्भव सँग पनि हजुर हुनुहुन्थ्यो भने बुद्धकाे समयमा पनि हजुर पक्कै हुनुहुन्थ्यो होला! ‘ सो जिज्ञासामा रिम्पोचेले सहमति जनाउँदै त्यस समय आफु ‘ आनन्द ‘ भएको बताउनु भयो।

बुद्ध परम्परामा धर्मको कार्य गर्न दलाई लामा, लामा कर्माप्पा, पाञ्चेन लामा जस्ता उच्च चेतनाहरुले पुनः पुनः यस धरतीमा जन्म लिने गरेको मान्यता छ। वर्तमान दलाई लामा ( तेन्जिन ज्ञात्सो ) १४ औं दलाई लामा हुन् भने, वर्तमान कर्मप्पा ( ओग्येन् त्रिनले दोर्जे ) १७ औं कर्माप्प हुन्। भुटानमा जन्मिएका वैरोचन रिन्पोचे पनि धेरै पटक पुनर्जन्म लिईसक्नु भएको छ । सन् २०१७ मा उहाँले नालन्दा विश्वविद्यालय भ्रमण गरी आफ्ना पूर्वजन्मको स्मृतिहरु सुनाउनु भएको थियो भने २०१९ मा तिब्बतको भ्रमण गरी आफ्नो पूर्व जन्ममा साधना गरिएका ठाउँहरू देखाउनु भएको थियो। पद्मसम्भव सँग साधना गरेको गुफा तथा आफूले अनुवादक भएर कार्य गरेका ठाउँहरू देखाउँदा उहाँका आँखाबाट अश्रुधारा बगेका थिए ।


स्वामी आनन्द अरुण सँगको भेटमा नै उहाँले पहिलो पटक आफु ‘ आनन्द ‘ रहेको रहस्य खोल्नु भएको थियो । उक्त क्षणमा आफूलाई पहिलो पटक धर्मकाे मार्गमा प्रवेश गराउनु भएका आफ्ना गुरु आनन्दसँग पुनः भेट भएर भावविभोर हुनुभएका स्वामी आनन्द अरुणले राजपरिवारका सदस्यहरूलाई स्पर्श गर्न नमिल्ने त्यहाँको राजकीय नियम बिर्सदै आफ्नो गुरुको हात हृदयमा लगाउँदै धेरैबेर रुनु भयो। रिन्पोचेका आमा, बुवा, हजुरआमा लगायत अन्य परिवारका सदस्यहरु पनि भगवान बुद्धका परम निकट रहेका आनन्दले आफ्नै परिवारमा जन्म लिएको रहस्य पहिलो पटक सुनेर भावुक हुनुभएपछि राजपरिवार काे त्यो विशेष प्रार्थना कक्ष आनन्द प्रतिको अहोभावका तरंगले घनीभूत भएको थियो । स्वामी आनन्द अरुणले रिम्पोचेलाई आफूले ल्याएको उपहारहरु दिनु भयो । त्यस्तै वैरोचनले पनि स्वामी ज्यूलाई सुनको मूर्ति उपहार दिँदै दीर्घ जीवनको कामना गर्नुभयो । ८२ वर्ष पुग्न लाग्नुभएका स्वामी आनन्द अरुणलाई धर्मको काम गर्न खातिर केही समय आफूले आयु थप गरिदिएको पनि रिम्पोचेले बताउनु भयो। उहाँहरू बीच ध्यानकाे प्रचार बारे कुरा हुँदा ओशोले ध्यानलाई अत्यन्त सरल बनाउनु भएको पनि चर्चा भयो।

भुटानको सौन्दर्य र आध्यात्मिक परिवेश देखेर स्वामी आनन्द अरुण अत्यन्त प्रभावित हुनुभयो। पद्मसम्भवले भुटानमा छ दिन ध्यान गरे तिब्बतमा ६ महिना ध्यान गरे बराबर हुन्छ भन्नुभएको प्रसंग पनि स्मरण गर्नुभयो। सानो जनसंख्या भएपनि भुटानमा प्रत्येक दुई व्यक्तिमा एकले कार चढ्छन्, माेटरसाइकल देख्न मुस्किल छ । जनता यति अनुशासित छन् कि त्यहाँ ट्राफिक लाइट राखिएको छैन र हर्न कसैले बनाउँदैन। सहरको बीच भएर बग्ने नदीहरू प्रदुषित छैन, निर्मल अनि कञ्चन छन् ।

जनतामा राजपरिवार प्रति अत्यन्त प्रेम र सम्मान छ जहाँ विकासको मापन ग्रस हैपिनेस इन्डेक्स बाट गरिन्छ भने प्रति व्यक्ति आय पनि नेपालको भन्दा धेरै छ ( ३५०० डलर ) । त्यहाँका वर्तमान राजा जिगमे केशर नामग्याल वाङचुक नेपाल कै थापाथली अस्पतालमा जन्मनु भएको हो । उहाँका बुवा जिग्मे सिगम्ये वाङचुकले स्वयं राजपात छोरालाई जिम्मा लगाएर एकान्त जंगलमा ध्यान गर्नुहुन्छ र हप्तामा एक पटक मात्र आफ्ना नाति वैरोचन रिन्पोचेसँग ध्यानको मार्गनिर्देशनकाे लागि बाहिर निस्कनुहुन्छ। बौद्ध राष्ट्र भएर पनि भुटानले ओशो अनुयायीलाई ध्यान सम्मेलनमा प्रमुख अतिथि बनाएकोमा बोधिसत्व स्वामी आनन्द अरुण आश्चर्य मान्नु हुन्छ ।

विगत ५६ वर्ष देखि ओशोको कार्य गरिरहनु भएका बोधिसत्व स्वामी आनन्द अरुणलाई भुटानमा गरिएको यो निमन्त्रणा र उच्च सम्मानले ओशो जगत र सिंगो नेपालको शिर उच्च भएको छ । आज उहाँको ८२ औं जन्मदिनको अवसरमा हामी उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय