ध्यान र आध्यात्मिक चेतनाको राष्ट्रका रूपमा परिचित भुटानले आयोजना गर्न लागेको Bhutan Meditation Conference 2025 मा नेपालका आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
जेठ २१ देखि २४ गतेसम्म हुने सम्मेलनमा भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक स्वयं सहभागी हुने कार्यक्रम रहेको छ, जसले ध्यान र चेतनाप्रति राष्ट्रको सम्मान दर्शाउँने बताइएको छ।
यो आमन्त्रणले स्वामी आनन्द अरुणप्रति भुटानको गहिरो सम्मान प्रकट गरेको छ। स्वामीजीले सम्मेलनको विशेष सत्रमा Osho Chakra Sound Meditation को प्रत्यक्ष मार्गदर्शन गर्नुहुनेछ। ध्यान र आत्मिक उन्नतिको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि सक्रिय स्वामी अरुणले ओशोका शिक्षालाई विश्वभर फैलाउने कार्यमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ।
उहाँको मौनता, उपस्थिति र गहिरो ध्यानमार्गले सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय ध्यान साधकहरूलाई विशेष प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
भुटानको यो सम्मानले नेपालको ध्यानगुरुप्रति कस्तो दृष्टिकोण छ भन्ने प्रश्न पनि उठाएको छ। ध्यान र आत्मज्ञानको गहिरो परम्परा बोकेको नेपालले आफ्ना आध्यात्मिक रत्नहरूलाई सम्मान दिन कति तयार छ भन्ने विषयमा पुनः बहस सुरु भएको छ।


