ललितपुर । कृषि मन्त्रालयअन्तर्गत पशु सेवा विभागमा तनाव न्युनिकरणका लागि ओशो ध्यान कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ।
ध्यान योगको शिविरद्वारा तनाव न्युनिकरण कार्यक्रम अन्तर्गत आयोजित आठ दिने ध्यान शिविरमा उच्च तहका सरकारी अधिकारीहरूले सहभागिता जनाएका थिए।

ललितपुरस्थित हरिहर भवनमा आयोजित उक्त कार्यक्रम ओशो दर्शनमा आधारित डायनामिक मेडिटेशन गरिएको थियो। कार्यक्रमको सहजीकरण रजनीश प्रार्थना ध्यान मन्दिरले गरेको हो। सहभागीहरूमा प्रदेश सचिव, विभागीय महानिर्देशक, उपमहानिर्देशक, सहसचिव, र अन्य अधिकृतहरू गरी झन्डै ४० जना थिए।

कार्यक्रमको पहिलो र अन्तिम दिन ओशो तपोवनका ट्रस्टी प्रेमकृष्ण स्वामी स्वयं उपस्थित भई दिनभर ध्यान र सत्संग गराउनुभएको थियो । सहभागीहरूले अनुभव बाँड्दै ध्यान विधिले मानसिक शान्ति, आत्मचिन्तन र कार्यक्षमतामा सुधार ल्याएको बताएका छन्। उनीहरूका अनुसार, ध्यानले व्यक्तिगत जीवन र कार्यालयीन जिम्मेवारीप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको छ।

शिविरको समापनमा सहभागी टोलीले ओशो र स्वामी आनन्द अरुणका ४४ वटा पुस्तकहरू किन्नुका साथै वितरणसमेत गरेका थिए। टोकन अफ लभको रूपमा गरिएको सो वितरणलाई सहभागीहरूले आत्मिक सन्देशको रूपमा लिए। सहभागीहरू निकट भविष्यमा ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुणको सानिध्यमा ध्यान सत्संग गर्ने योजना बनाइरहेका छन्।



