काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सहसचिव, उपसचिवसहित २९ जना कर्मचारीले तपोवन पुगेर तीन दिनसम्म ध्यान साधना गरेका छन्। बिहीबार साँझदेखि आइतबारसम्म उनीहरूले ध्यान साधन गरेका हुन्।
ध्यान साधनाको क्रममा उनीहरुले स्वामी आनन्द अरुणलाई समेत भेटेका छन् ।भेटमा स्वामी अरुणले वैज्ञानिक दृष्टिकोणले ध्यानको महत्त्वबारे विकास भइरहेको बताउनुभएको थियो ।कार्यसम्पादनमा मुलत परिवर्तन ल्याउनका लागि पनि ध्यान आवश्यकता रहेको उहाँले बताउनुभएको थियो ।
सहभागी कर्मचारीहरूले ध्यान अभ्यासका साथै आध्यात्मिक जिज्ञासाहरू स्वामी अरुणसामु राखेका थिए, जसको उत्तर उहाँले दिनुभएको थियो । सहभागीहरूले पनि ध्यानले मानसिक स्वास्थ्य र कार्य सम्पादनमा सुधार ल्याउने भन्दै यस्तो साधना आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
हाम्रो मस्तिष्कमा सामान्यतया दैनिक रूपमा २ हजारदेखि ३ हजारसम्म विचारहरू उत्पन्न हुने विभिन्न अध्ययनले देखाएको छ ।
तपोवन आश्रममा वर्षमा ८० भन्दा बढी देशका साधकहरूले ध्यान साधना गर्ने गर्दछन् । ध्यानको महत्व विश्वव्यापी छ । नेपालका नेतादेखि मन्त्री, युवा तथा सर्वसाधारणसम्मले यस आश्रममा गएर ध्यान साधना गर्ने परम्परा पछिल्लो समय बढ्दो छ।
विश्व ध्यान दिवसका लागि समेत स्वामी आनन्द अरुणको ठुलो योगदान रहेको थियो । २०१२ देखिनै उहाँले यो विषयमा आवाज उठाउदै आउनुभएको थियो । स्वामी आनन्द अरुणले नेपाललाई ध्यानको अन्तर्राष्ट्रिय राजधानी बनाउने अभियानका साथ ध्यान संस्कृतिको विस्तार गरिरहनुभएको छ ।


