प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति चिन्ताजनक छ : मानव अधिकार आयोग

प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति चिन्ताजनक छ : मानव अधिकार आयोग

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ ।

सोमबार आयोगका सहसचिव प्रवक्ता डा टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

उक्त विज्ञप्तिमा उल्लेख छ ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध गरेको छैन । यस परिस्थितिमा अरूको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’

विज्ञप्तिमा जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्‌नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरूप्रति लक्षित गरी मुठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुने उल्लेख गरिएको छ ।

देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरीत हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाई रहेको बताइएको छ ।

जिम्मेवार व्यक्तिले आफ्‌नो अभिव्यक्ति दिँदा संयमित हुन, अरू व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन तथा आफ्‌ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक कार्यक्रमबिच जेठ १५ गते एघार बजेदेखि दुई बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

आगामी जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा जनआन्दोलन गर्न लागेको सन्दर्भलाई इङ्गित गर्दै उनले यस्तो भनेका थिए ।

त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय