एक वर्षमा विदेशबाट १५०६ नेपाली निष्कासित

एक वर्षमा विदेशबाट १५०६ नेपाली निष्कासित

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपालमा अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकको संख्या पछिल्लो समय बढ्दै गएको छ भने विभिन्न देशबाट निष्कासित नेपालीहरूको संख्या पनि उच्च देखिएको छ । अध्यागमन विभागका तथ्यांकअनुसार सन् २०२४ मा नेपालले ४९७ विदेशी नागरिकलाई निष्कासन गरेको छ भने अन्य देशहरूले १,५०६ नेपालीलाई फिर्ता पठाएका छन् । यो अनुपात झण्डै तीन गुणा बढी हो ।

नेपालमा अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकमध्ये चिनियाँ, अमेरिकी, बंगलादेशी, पाकिस्तानी र बेलायतीको संख्या बढी छ । एक वर्षको अवधिमा १४७ चिनियाँ, ५४ अमेरिकी, ५४ बंगलादेशी, ३५ पाकिस्तानी र २७ बेलायती नागरिकलाई निष्कासन गरिएको छ । यीमध्ये धेरैजसोको अपराध भिसा अवधि नाघेर बस्नु (ओभर स्टे) रहेको छ ।

पर्यटक भिसामा नेपालमा पाँच महिना बस्न पाइने प्रावधान भए पनि अमेरिकी नागरिकले छ महिना बस्न पाउँछन् । तर, निर्धारित समय नाघेर बस्ने विदेशीलाई जरिवाना तिराई निष्कासन गरिन्छ ।

अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूले शंकास्पद गतिविधि गर्ने हुँदा राष्ट्रिय सुरक्षामा जोखिम थपिएको सुरक्षा अधिकारीहरूको भनाइ छ । विशेष गरी चिनियाँ नागरिकले पर्यटक भिसा र व्यवसायिक भिसाको दुरुपयोग गरी सुन तस्करी, अनलाइन ठगीजस्ता गतिविधि गरेका उदाहरण भेटिएका छन् । सन् २०२४ मा निष्कासित चिनियाँ नागरिकमध्ये १४१ जनाले भिसा अवधि नाघेका थिए भने दुईजनाले सार्वजनिक सम्पत्तिविरुद्ध अपराध गरेका थिए ।

विदेशबाट निष्कासित नेपालीहरूको मुख्य गन्तव्य मध्यपूर्वी देशहरू, मलेसिया, अमेरिका, दक्षिण कोरिया, र जापान रहेका छन् । भिसा अवधि समाप्त हुनु र अध्यागमन कानुनको उल्लंघन मुख्य कारण हुन् । अमेरिकाले अवैध रूपमा बस्ने नेपालीहरूलाई विशेष विमानमार्फत नेपाल फर्काउने गरेको छ । कतिपय नेपाली आप्रवासीले कानुनी सुरक्षाको अभाव झेल्नु परेको छ ।

अध्यागमन विभागले अवैध रूपमा बस्ने विदेशीहरूको निगरानी प्रभावकारी बनाउन नयाँ ट्र्याकिङ प्रणाली निर्माण गर्ने तयारी गरिरहेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार अवैध गतिविधिमा संलग्न विदेशीलाई जरिवाना तिराई निष्कासन गरिनुका साथै निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाइने योजना छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय