विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन : ओली

विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन : ओली

साहसी खबर
4 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको बताएका छन् । वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा उनले पूर्व सहकर्मी तथा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भने ‘धोकेबाज’ का रुपमा चित्रण गरे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आफ्नो विरोधी नै नभएको जिकिर गर्दै ओलीले आफ्नो मुख्य राजनीतिक प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको उल्लेख गरेका छन् । ‘प्रतिस्पर्धा नेपाली कांग्रेस र हाम्रो बीचमा छ,’ ओलीले भने, ‘तर मेरो सबभन्दा निकट सम्बन्ध शेरबहादुर देउवाजीसँग छ, विश्वासको सम्बन्ध छ ।’ उनले आफ्नो तर्फबाट देउवासँगको सम्बन्ध सधैँका लागि रहने तर देउवाले अन्यथा गरेमा परिस्थिति फरक हुन सक्ने संकेत गरे । प्रचण्डगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले भने, ‘स्वर्ग जाने, नर्क जाने सम्बन्ध थियो । उहाँले पनि धेरैपल्ट भन्नु भएको हो, धेरैपल्ट धोका दिनु भएको हो ।’

उनले प्रचण्डसँग पटक–पटक लिखित सहमति भए पनि ती अर्थहीन भएको बताएका थिए । आफ्ना विपक्षीहरूप्रति निर्मम भएको भन्ने आरोपलाई अस्वीकार गर्दै ओलीले आफू प्रतिस्पर्धामा उत्रिने तर व्यक्तिगत रूपमा कसैप्रति त्यस्तो नभएको उल्लेख गरे । आफ्नो कमजोरीबारे सोधिएको अर्को प्रश्नमा उनले आफूले मानिसहरूलाई सजिलै विश्वास गर्ने र कहिलेकाहीँ धोका खाने गरेको बताएका छन् । उनले आफूलाई घेर्ने मानिसहरू (सर्कल) छनोट गर्न नआएको भन्ने कुरालाई भने अस्वीकार गरे । ‘सर्कल भनेको मैले विश्वास गरेको निकटवर्तीहरूको मात्रै कुरा गर्दिनँ,’ उनले भने, ‘अलिक परसम्मका सम्बन्धहरूमा पनि मैले विश्वास गर्छु।’

‘विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन’
अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने बताएका छन् । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताएका छन् । ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा फर्किनेबारे कुनै सल्लाह नगरेको दाबी गरेका छन् । उनले भने, ‘उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नु भएको छैन ।’ ओलीले पार्टीको वैठक बसेर भण्डारीको विषयमा निर्णय लिइने बताए ।

उनी थप्छन्, ‘उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानु भएको होइन । हामीले पठाएको हो । उहाँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति हुने भएपछि पार्टी छोड्नु भयो । पार्टी छोडेर जानुपर्छ । छोड्नुभन्दा अगाडि त उपाध्यक्ष नै हो ।’ भण्डारीको विषयमा एमालेले औपचारिक निर्णय गर्छ भन्ने प्रश्नमा ओली भन्छन्, ‘निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएपछि र म आउँछु भनेपछि उहाँले आउनु हुन्छ कि हुँदैन, नैतिकरूपमा हुन्छ कि हुँदैन, गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा र स्वयं उहाँको जीवनमा यसले के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्छ नै ।’

कहिलेसम्ममा निर्णय गर्छ भन्ने प्रश्नमा ओलीले ठोस जवाफ दिएनन् । ‘त्यो हेर्नुपर्छ । सल्लाह गर्नुपर्छ । उहाँले आफैंले विचार गर्नुपर्छ । खोइ के बोलिराख्नु भएको छ । मैले त… हामीले पनि जानकारी प्राप्त गरेका छौं । सार्वजनिकरूपमा बोलेका कुराहरूमा हामीले उहाँसँग सोध्नुपर्छ । धेरै ढिला गर्दैनौं’, ओलीले भने ।

विजयकुमारले प्रश्न राखे– यो कतै तपाईंले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्नका लागि सुविचारितरूपमा लिएको रणनीति त होइन ?
एक छिन हाँसेपछि उनले भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । दोस्रो, पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नु भएको र पहिले पनि लिडरसिपमा बसेर काम गरेको संगठनात्मक अनुभव उहाँसित छैन ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय