जीवन पाण्डे, बाग्लुङ । लकडाउनको उल्लघंन गर्नेलाई बडिगाड गाउँपालिकाले भाटे कारबाही सुरु गरेको छ । बन्दाबन्दीको समयमा पनि अनावश्यक काममा बजारमा डुल्ने र घुम्ने गर्ने र गाउँपालिकाले बनाएको नियमलाई अटेर गर्न थालेपछि भाटे कारबाही नै सुरु गरेको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै लकडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक रुपमा घरबाहिर निस्कने, भेला हुने र हिँडडुल गर्ने र खोलामा माछा मार्न थालेपछि गाउँपालिकाले बजारमा रहेका व्यापारीहरुलाई लठ्ठी लिएर कारबाही गर्न अनुमती दिएको छ ।गाउँपालिकाले त्यसको अनुगमनका लागि विभिन्न समिति पनि बनाएको छ । बजारका व्यापारीहरु सम्मिलित उक्त समितिले विभिन्न बजार क्षेत्र र टोलहरुमा लकडाउनको पालना गरे नगरेको समेत अनुगमन गर्ने र उल्लघंन गरेको भेटिए कारबाहीको प्रक्रिया अगाडी बढाउने बताईएको छ ।
बडिगाड गाउँपालिकाको सर्वपक्षीय वैठकले लगडाउन उल्लंघन गर्नेलाई कारबाही गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । बैठकले कसैले लकडाउनको उल्लंघन गरेको पाइएमा कारबाही गर्ने अधिकार समेत दिएको गाउँपालिकाकाका अध्यक्ष पाईजाले बताउनुभयो ।यसका लागि पालिकाले सिंगो वडालाई विभिन्न टोलमा विभाजन गरि व्यापारीहरुलाई आ–आफ्नो टोल नियन्त्रण गर्नेगरि जिम्मेवारी दिएको छ । पालिकाले अत्यावश्यक काममा घरबाहिर निस्कनु परेमा नजिकैको वडा कार्यालयमा सम्पर्क गरि अनुमति लिएर मात्र बाहिर निस्कन आग्रह गरेको छ ।
बडिगाड गाउँपालिकाका मुख्य बजार खौलार, खार र न्वार बजारमा लकडाउन व्यवस्थि तगर्न कमलाराज आचार्यको सयोंजकत्वमा लकडाउन कार्यान्वयन तथा अनुगमन समिति समेत निर्माण गरिएको छ ।





