यी प्रदेशमा आज पनि वर्षाको सम्भावना

यी प्रदेशमा आज पनि वर्षाको सम्भावना

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

आज (मंगलबार) पनि देशका केही भागमा वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार यस्तो छ आज दिउँसो र राति हुने मौसम, वर्षा र हिमपातको सम्भावना :

आज दिउँसो–कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक (पातलो बादल लाग्ने) देखि साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानमा मुख्यतया सफा (लगभग आकाश सफा) देखि आंशिक बदली रहनेछ ।

यस क्रममा दिउँसो कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा / हिमपात हुने सम्भावना छ ।

आज राति–कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

यस क्रममा राति कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपात हुने सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो ।

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भू–भागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक–दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्। हिजो (सोमबार) देशका केही ठाउँमा ठूलो पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभ्रेपलाञ्चोक, बारा, सिराहालगायतका ठाउँमा ठूलो पानी परेको हो। वर्षासँगै काभ्रेको पनौती र रोशीमा बाढी आएको छ। पनौतीमा कुलो तर्ने क्रममा एक महिलालाई बाढीले बगाएको काभ्रे प्रहरीले जनाएको छ। बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय