महासंघले आन्दोलन चर्काउने, देशभरका शिक्षकलाई काठमाडौं आउन सर्कुलर

महासंघले आन्दोलन चर्काउने, देशभरका शिक्षकलाई काठमाडौं आउन सर्कुलर

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

विद्यालय शिक्षा विधेयक २०८१ को छिटो पारित हुनुुपर्नेलगायतका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलन अझ चर्किने संकेत देखिएको छ । शिक्षक महासंघले सरकारले आन्दोलनप्रति गम्भीरता नदेखाएको भन्दै ७७ वटै जिल्लाबाट थप शिक्षकलाई काठमाडौं बोलाउने निर्णय गरेको छ ।

शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भएको छलफलले अपेक्षित नतिजा नदिएपछि महासंघले आन्दोलनलाई नयाँ चरणमा लैजाने रणनीति बनाएको हो । महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीका अनुसार, अब कुनै पनि विद्यालयमा शिक्षक नरहने गरी आन्दोलनलाई राष्ट्रिय रूप दिइनेछ । ‘शिक्षकहरू अब झन् व्यापक रूपमा काठमाडौं आउनुहुनेछ,’ उनले भनिन् ।

शनिबार साँझ भोजपुरको साल्पासिलिछोबाट राजधानी आइपुगेका शिक्षक रविन राईले देशभरबाट गाडी रिजर्भ गरेर शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं आइरहेको जानकारी दिए । ‘अहिले पनि थुप्रै गाडी काठमाडौं छिर्दै छन्,’ उनले भने ।

शिक्षकहरूले माग गरिरहेको विद्यालय शिक्षा विधेयक अझै संसद्मा टेबुल भएको छैन । प्रधानमन्त्री ओलीले १२ वैशाखमा विधेयक संसद्मा प्रस्तुत गर्ने र १३ वैशाखमा पारित गरिने आश्वासन दिए पनि विगतका सम्झौताहरू कार्यान्वयन नभएको अनुभवका कारण आन्दोलनरत शिक्षकहरू आश्वस्त देखिएका छैनन् ।

२०७५ मा तत्कालीन प्रधानमन्त्री ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा भएको ३० बुँदे, २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको ५१ बुँदे र २०८० मा पुष्पकमल दाहाल नेतृत्वमा गरिएको ६ बुँदे सहमतिहरू अझै कार्यान्वयनमा आइसकेका छैनन् । त्यसैले यसपटक शिक्षकहरू ‘माग पूरा गरेर मात्र फर्किने’ अडानमा छन् ।

सरकारले आन्दोलनका जायज मागप्रति चासो देखाए पनि अपेक्षित संवाद र समन्वय हुन सकेको छैन । २५ चैतमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूलाई वार्ताको जिम्मा दिए पनि ती अधिकारीहरूले शिक्षकमाझ विश्वसनीय संवाद गर्न असफल भएको देखिन्छ ।

अर्कोतर्फ, सरकारका प्रवक्ताद्वारा आन्दोलनलाई ‘राजतन्त्र फर्काउने षड्यन्त्र’ भन्दै गरिएको आरोपले आन्दोलन थप आक्रोशित बनाएको छ । सभामुखले पनि शिक्षा विधेयक प्राथमिकतामा नपर्ने भनाइ दिँदा आन्दोलनकारी शिक्षकहरूको आस्था थप कमजोर भएको छ ।

१८ दिनदेखि जारी आन्दोलनको प्रभाव शैक्षिक क्षेत्रमै गहिरो परेको छ । कक्षा १२ को परीक्षा अनिश्चित बनेको छ भने कक्षा ८ को नतिजा प्रकाशन रोकिएको छ। एसईई कापी परीक्षण, विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणजस्ता प्रक्रिया ठप्प छन् । शिक्षकहरूको आन्दोलन अब निर्णायक चरणमा पुगेको देखिन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय