बडिगाड गाउँपालिकाकी अध्यक्ष नेपालका १०० प्रभावशाली महिलाको सूचीमा

बडिगाड गाउँपालिकाकी अध्यक्ष नेपालका १०० प्रभावशाली महिलाको सूचीमा

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका एक सय प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ। वर्ल्ड अफ वुमन (डब्ल्यूओडब्ल्यू) ले सार्वजनिक गरेको सूचीमा उहाँलाई समेत समावेश गरिएको हो।

विभिन्न क्षेत्रमा नेतृत्व गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेका महिलाहरूको सामूहिक शक्ति शीर्षकमा डब्ल्यूओडब्ल्यूले प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गरेको हो। सो सूचीमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ, पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे, महिला नेतृ वृन्दा पाण्डे लगायतका प्रतिष्ठित व्यक्तित्वहरू रहेका छन्।

सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्व लगायतका क्षेत्रका महिलाहरूलाई समेट्दै तयार पारिएको सूचीमा जनप्रतिनिधिका तर्फबाट अध्यक्ष अधिकारीसमेत समावेश हुनुभएको हो। उहाँले विशेष गरी ग्रामीण क्षेत्रमा महिलाहरूको उत्थान, महिला स्वास्थ्य सुधार र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सूचीमा राखिएको हो।

थापाको नेतृत्वमा निःशुल्क स्वास्थ्य बीमा, गर्भवती महिलाका लागि एक्स-रे सेवा, पोषण सहयोगसहितका कल्याणकारी कार्यक्रमहरू सञ्चालन गरिएको छ। साथै, साना उद्योगहरूको प्रवर्द्धन, सौर्य ऊर्जा परियोजनाहरूको विकास, स्थानीय महिलाहरूका लागि डिजिटल साक्षरता तालिम तथा स्मार्ट कृषि अभ्यासमार्फत दिगो कृषि प्रवर्द्धनका लागि उहाँले महत्वपूर्ण पहल गर्नुभएको छ।

डब्ल्यूओडब्ल्यूका अनुसार, चुनौतीहरूको सामना गर्दै नवीन मार्ग अवलम्बन गर्ने तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने महिलाहरूलाई प्रेरित गर्न सूची सार्वजनिक गरिएको हो।

अध्यक्ष अधिकारी केही समयअघि ‘सी लिड्स आइकन अवार्ड’ बाट पनि सम्मानित हुनुभएको थियो। बागलुङ जिल्लाका १० पालिकामध्ये उहाँ एक मात्र महिला प्रमुख हुनुहुन्छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय