ओशो तपोवनका संस्थापक आध्यामिक गुरु बोधिसत्व स्वामी आनन्द अरुण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । उहाँहरुबीच बिमानस्थलमा केही समय कुराकानी भएको बताइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरू अनुसार, भेटका क्रममा आध्यात्मिक अभ्यास, योग र ध्यानबारे छलफल भएको छ। प्रधानमन्त्री मोदीले सधैंझैं योग, ध्यान तथा आध्यात्मिक चिन्तनप्रतिको आफ्नो समर्पण व्यक्त गर्नुभयो। मोदी आफैं पनि लामो समयदेखि योग, ध्यान तथा आध्यात्मिक अभ्यासमा संलग्न रहँदै आउनुभएको छ।
स्वामी आनन्द अरुणले प्रधानमन्त्री मोदीसँगको भेटलाई अर्थपूर्ण बताउँदै ध्यान, योग र आध्यात्मिकता विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने सन्दर्भमा सकारात्मक छलफल भएको उल्लेख गर्नुभयो। विशेषगरी, विश्व ध्यान दिवसलाई प्रभावकारी रूपमा अघि बढाउने तथा आध्यात्मिक जागरणलाई सशक्त बनाउने विषयमा कुराकानी भएको थियो। यस अवसरमा एसियन युनियन निर्माणको विषयमा पनि छलफल भएको जनाइएको छ।
नेपाल र भारतबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता भेटघाटले योगदान पुर्याउने विश्वास गरिएको छ। प्रधानमन्त्री मोदीले स्वामी आनन्द अरुणसँगको भेटपछि आफू एक साधक भएको नाताले अत्यन्त प्रफुल्लित भएको बताउनुभयो।
उहाँले योग र ध्यानजस्ता अभ्यासहरूले मानिसको जीवनमा शान्ति र समृद्धि ल्याउने बताउँदै आध्यात्मिक विकासलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यो ऐतिहासिक भेटघाटले नेपाल–भारत सम्बन्धलाई आध्यात्मिक दृष्टिकोणबाट थप मजबुत बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।





