प्रकृतिका बुवा भन्छन्– छोरीलाई ह्यारेन्समेन्ट भएको रहेछ, न्याय चाहिन्छ

 प्रकृतिका बुवा भन्छन्– छोरीलाई ह्यारेन्समेन्ट भएको रहेछ, न्याय चाहिन्छ

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भारतको उडिसा स्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युपछि उनका बुवा सुनिल लम्साल घटनास्थल पुगेका छन् । विश्वविद्यालय र प्रहरी–प्रशासनसँग उनको कुराकानी भएको छ ।

भारतीय मिडियासँग कुरा गर्दै सुनिलले आफ्नो छोरीको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न अपिल गरे । ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना आफूले पाएको उनले बताए । लम्सालले भने, ‘हामीलाई यति सूचना छ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन । आधिकारिक रुपमा अरू केही पनि भनिएको छैन ।’

आफू आएपछि युनिभर्सिटीले राम्रो समन्वय गरिरहेको उनले बताए । ‘हिजो युनिभर्सिटीसँग कुरा भएको थियो । उनीहरूले आधिकारिक त केही पनि बताएनन् । तर कोअपरेट गरिरहेका छन्,’ लम्सालले भने, ‘प्रहरी–प्रशासनले पनि सहयोग गरिरहेको छ ।’

सोही कलेजमा अध्ययन गर्ने प्रकृतिका दाइ पर्ने सिद्धान्त सिग्देलले घटनापछि उनलाई फोन गरेका थिए । खबर पाउनासाथ आफू तुरुन्तै हिँडेको लम्सालले बताए ।

‘उसको दाइ पनि यहीँ पढ्छ । उसले फोन गरेर छिटो आउनुस् भन्यो । डेथ भएको भनेर चाहिँ भनेन । आउनुस् मात्र भन्यो । हामी निस्किहाल्यौँ । अस्ति साँझ ५ बजे चाहिँ मृत्यु भइसकेको भनेर थाहा भयो ।’

तपाईँहरूको माग अब के छ ? भन्ने पत्रकारको प्रश्नमा लम्सालले दोषीलाई कारबाही हुनुपर्ने बताए । ‘प्रहरीले एक जनालाई समातेको छ । सायद उसैको कारणले होला । फेरि पुलिस–प्रशासनसित कुरा हुन्छ । त्यसपछि थाहा होला । छोरीको ल्यापटप, मोबाइल, डायरीहरू फरेन्सिकमा लगेको छ । त्यसबाट पनि धेरै कुरा थाहा होला ।’ उनले भने ।

यहाँको कानूनी प्रक्रिया सकेर छोरीको शव नेपाल लैजाने उनले बताए । ‘लिएर त जानै छ । तर प्रोसिडियर हुन्छ । एउटा देशबाट अर्को देश लाने कुरा हो । सकेसम्म आज भए आज नभए भोलि लैजाने प्रयास छ ।’ उनले भने ।

घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेकोमा उनले दुख व्यक्त गरेका छन् । लम्सालले भने, ‘नेपाली विद्यार्थीलाई लखेटेको रहेछ । यो ठिक होइन । चाहिएको बेलामा आउनुस् भन्ने, केही घटना हुनासाथ जानुस् भन्ने । टाढाबाट आएका छन् । उनीहरूलाई जान गाह्रो हुन्छ । यस्तो गर्नु हुँदैनथ्यो । हामी न्याय चाहन्छौँ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय