काठमाडौँका सडकको जिएसआई नक्साङ्कन सुरु

काठमाडौँका सडकको जिएसआई नक्साङ्कन सुरु

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कन सुरु गरेको छ ।

नक्साङ्कनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुने छ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क हुने छन् ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीनकुमार मानन्धरले महानगरको सम्पूर्ण विकासको योजना तर्जुमाका लागि प्रविधिमा आधारित विवरण तयार गर्न सुरु गरिएको बताए । पाँच जना भौगोलिक सूचना प्रणाली इन्जिनियर र पाँच जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो । नक्साङ्कनका क्रममा यसअघि गरिएका कामबाट प्राप्त उपलब्धिलाई थप गर्दै लगिने प्रवक्ता मानन्धरले जानकारी दिए ।

महानगरपालिकाका नापी अधिकृत इन्जिनियर अशोक श्रेष्ठले यस कार्यक्रमबाट २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका नक्साङ्कन कार्यक्रमबाट सूचीकृत गरिएका दुई हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीको नामाङ्कन र नक्साङ्कन अवस्थालाई अद्यावधिक गरिने बताए ।

भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा नहुँदा अहिले ठेगाना प्रणालीसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुन सक्ने अवस्था छैन । महानगरपालिका र वडाका योजना एकीकृत हुन सकेको छैन । प्रशासनिक नक्सा र वडाहरूको सिमानाको अवस्था मिलेको छैन । यसै कारण भवन र पूर्वाधारको यथार्थ विवरण प्राप्त हुन सक्ने अवस्था छैन । अहिले थालिएको नक्साङ्कन कार्यक्रमबाट यी अभावलाई कम गराउँदै लगिने विश्वास गरिएको नापी अधिकृत श्रेष्ठले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय