लेदोसहितको बाढीले बगायो विद्यालयको छात्रावास र ६ वटा घर

लेदोसहितको बाढीले बगायो विद्यालयको छात्रावास र ६ वटा घर

साहसी खबर
4 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को थामे क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले विद्यालयको छात्रावास र ६ वटा घर बगाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भूसालले थामे आधारभूत विद्यालयको छात्रावास र ६ वटा घर बगाएको जानकारी सूचना प्राप्त भएको जानकारी दिए।

उनले पनि मानवीय क्षति भएको जानकारी नआएको बताए। ‘ती घरमा मान्छेहरू थिए पहिल्यै सुरक्षित स्थानमा गएका छन्,’ उनले भने ।प्रशासकीय अधिकृत भूसालले बाढी आएको स्थानमा पुग्नै साढे १ दिनभन्दा बढी लाग्ने समेत बताए।

त्यहाँ टासी र लाप्चा जाने बाटोका तालहरू फुटेको आकलन गरिएको उनले बताए। ‘काठमाडौंबाट हेली मगाएका थियौं तर मौसम खराबीका कारण सम्भव भएन,’ उनले भने।

उनले टासी र लाप्चे जाने बाटोमा भएका हिमतालहरू फुटेको अनुमान गरिएको जानकारी दिए। ‘प्रहरी पठाइएको छ, तर त्यहाँ पुग्नै दुई दिन लाग्छ,’ उनले भने। प्रशासकीय अधिकृत भूसालले त्यहाँ मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको पनि बताए।

‘गुम्बाहरू अग्लो ठाउँमा हुन्छन्, हामीले स्थानीयहरूलाई त्यस्ता ठाउँमा गएर बस्न भनेका छौं। टेलिफोन र सामाजिक सञ्जालमार्फत हामी निरन्तर स्थानीयहरूसँग जोडिएका छौं,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्‍बुले सूचना जारी गरेर सुरक्षित स्थानमा जान भनेको छ। प्रशासनले पनि अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ।

लेदोसहितको बाढीले बगाएको थामेका घर र होटलमा कुरूवा मात्रै थिए

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को थामे क्षेत्रमा शुक्रबार दिउँसो एक्कासि पसेको भीषण बाढीले अहिलेसम्म एउटा विद्यालयको छात्रावास र केही होटल सहितका ६ वटा घर बगाएको छ।

होटलहरू बगाउँदा पनि अहिलेसम्म मानवीय क्षति भएको अप्रिय खबर छैन। बर्खाको समयमा त्यो क्षेत्रका होटल र घरहरूमा धेरै मान्छे नबस्ने भएकै कारण ठूलो क्षतिबाट जोगिएको त्यहाँका जनप्रतिनिधिहरूले बताएका छन्।

‘सोलुखुम्बुको नाम्चेबाट उत्तरपश्चिम क्षेत्रमा थामे गाउँ अवस्थित छ,’ सोही क्षेत्रका कोशी प्रदेशसभा सांसद बुद्धिकुमार राजभण्डारीले भने, ‘पर्यटकीय क्षेत्रमा पर्ने गाउँमा अहिले धेरै मानिस बस्दैनन्। हरेकजसो होटल र घरका धेरै मानिस काठमाडौंमै हुन्छन् बर्खामा।

त्यसैले घर र होटल रुङ्ग बसेका थोरै मानिस मात्रै भएको जानकारी मैले पाएको छु। भाग्न, दौडिन सक्नेहरू भएकाले उनीहरू जोगिएका हुन्।’

उनका अनुसार बाढीका कारण गाउँलाई अन्यत्रसँग जोड्ने सबैजसो बाटोहरू बगाएको छ भने केही पुलहरू पनि भत्केको छ।

‘नाम्चेबाट उकालो लाग्दै यही गाउँ हुँदै नाङपाला पास (तिब्बततिर) जाने बाटोमा यो गाउँ पर्छ,’ प्रदेशका पूर्वमन्त्रीसमेत रहेका राजभण्डारीले भने, ‘हिमालको कुनै हिमताल फुटेर थामे खोलामा मिसिएपछि बाढी गाउँ पसेको हुनसक्छ।’

उनका अनुसार थामे क्षेत्रमा लेदोसहित आएको भीषण बाढी प्रवेश गरेपछि त्यहाँको अवस्था भयावह बनेको छ। ‘अहिले गाउँमा भयावह अवस्था छ, कोही कसैले फोन उठाउने अवस्था छैन,’ राजभण्डारीले भने, ‘रेस्क्युको काम धमाधम चलिरहेको छ।’

प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म सात जनाको उद्धार भइसकेको छ भने प्रशासनले सबैलाई सुरक्षित ठाउँतिर जान भनेको छ। दुर्गम ठाउँमा भएको र बाटो घाटोहरू पनि क्षतिग्रस्त भइसकेका कारण थामे गाउँमा प्रहरी पुग्न सकस भइरहेको छ।

‘प्रहरी अन द वे नै छ,’ प्रदेश प्रहरीका एसएसपी भीम दाहालले भने, ‘थामे गाउँभन्दा १० मिनेट पैदल दुरीमा नेपाली सेना बस्ने भएकाले सेना नजिकै रहेको सूचना छ।’मध्यदिनमा बाढी गाउँ पस्दा पनि ठूलो क्षति नभएको सांसद राजभण्डारीले जानकारी दिए।

‘यदि राति सर्वसाधारण गएको भए अहिलेसमम ठूलो मानवीय क्षति हुनसक्थ्यो,’ उनले भने, ‘मध्य दिनमा उज्यालैमा बाढी पस्दा सर्वसाधारणलाई जोगिन सहयोग भयो।’

गाउँ पसेको बाढीले घरहरूलाई लेदोसहित पुरेपछि गाउँमा रहेकाहरू डाँडाको भागतिर गइरहेको उनले जानकारी दिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय