बागलुङ । बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिका अझै बेपत्ता छन् । पहिरोमा परेर ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापा अझै हराइरहेको बडिगाड गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष विरेन्द्र बुढाले जानकारी दिए । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
पहिरोले घर पुरिँदा आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षका यमलाल विक, ११ वर्षीया सीता पुन, ८ वर्षीय अमल बुढा, सोही घरमा आश्रय लिन पुगेकी छिमेकी सञ्जु विककी ६ महिने छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको मृत्यु भएको थियो । चार जना बेपत्ता रहेकामा ३ वर्षका आरुस थापाको शव बुधबार भेटिएको छ ।
घाइते भएका १० जनामध्ये गम्भीर रहेका १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढालाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष गण्डकी थापाले जानकारी दिइन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले घाइतेको निःशुल्क गर्न र खानेबस्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
अर्का गम्भीर घाइते मंगलसिंह बुढालाई थप उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइएको छ । मंगलबार बेलुकी प्रतिकूल मौसमका कारण सेनाको हेलिकोप्टर अवतरण हुन नसकेपछि बुधबार बिहान मात्र उनीहरूको उद्धार गरिएको थियो । बाँकी घाइतेको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनास्थल सदरमुकामदेखि १ सय किमि पश्चिममा पर्छ ।
पहिरोले बडिगाड–९ र १० मा ४० भन्दा बढी घर भत्केका छन् । ३ घर पूर्ण रूपमा क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । ‘क्षति भएका अन्य घरमा पनि बस्न सक्ने अवस्था छैन ।





