काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकोप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। शिवपुरी गाउँपालिका–७ का वडाअध्यक्ष बीर बहादुर तामाङले ५ जनाको शव निकालिएको पुष्टि गरे।वडाअध्यक्ष तामाङ अहिले घटनास्थलमै छन्।
नुवाकोटमा प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिसकेको जानकारी दिए ।
मृतक चार जना चिनियाँ नागरिक हुन् । उक्त हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाट रसुवाको स्याँफ्रुबेँसीका लागि १ बजेर १४ मिनेटमा हेलिकोप्टर उडेको थियो ।
को–को थिए सवार ?
अरुण मल्ल: क्याप्टेन
जुदाड टाङ (पुरुष)
जी लि (पुरुष)
यियाद वु (महिला)
जेमिङ सी (पुरुष)
उडेको तीन मिनेटमै एयर डाइनेस्टीको काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई दुर्घटना

एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको हेलिकप्टर (९एन–एजेडी) स्याफ्रुबेशी (रसुवा जिल्ला) जाँदै थियो ।
हेलिकप्टरमा क्याप्टेनबाहेक ४ जना यात्रु (चिनियाँ नागरिक) रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’
दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरेको प्राधिकरणले जनाएको छ ।
दुर्घटनामा ४ जनाको शव फेला परेको उद्धारकर्ताहरूले जनाएका छन् । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।





