लघुकथा: कुमारित्व

लघुकथा: कुमारित्व

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– इन्दिरा प्रसाईं

आफ्नो स्पष्टवादितालाई त्यस रात पनि सत्याले त्याग्न सकेकी थिइन। कसै गरे पनि उसले आफ्नो पतिसँग साँचो कुरा भन्नबाट आफूलाई रोक्नै सकिन। आफूले पहिले नै कुमारित्व गुमाइसकेको कुरो सत्याले त्यसक्षण रुँदै पतिसँग भनेकी थिई। ‘कसरी एउटा दुर्घटना घट्यो। ऊ लगायत उसका अरू तीनओटी नवयौवना सखीहरू एकैपटक बलात्कृत भएका थिए। त्यसै सन्त्रासबाट आत्तिएर रञ्जना र अर्पणाले केही दिनमै आत्महत्या गरे पनि अनुपमा र सत्याले भने जीवनलाई स्वीकारेका थिए। यही पीडाका कारण सत्याले बिहे पनि नगर्ने इच्छा गरेकी थिई, तर अभिभावकहरूको जिद्दीका कारण ऊ विवाहित जीवनमा आइपुगेकी थिई । पतिको छातीलाई आँसुले भिजाउँदै सत्याले आफूलाई रित्याएकी थिई। उसका पतिले सामान्य सहानुभूति दर्शाएपछि त्यसरातका मधुरतामा दुवै डुबेका थिए। त्यसबेला आफ्ना पतिसँग आफू इमान्दार हुन सकेकाले सत्या पनि अपार आनन्दमा रमाएकी थिई।

सत्याको खुसी धेरै दिन टिक्न सकेन, किनभने उसका पतिमा बिस्तारै बिस्तारै परिवर्तनका रेशाहरू देखा पर्न थालेका थिए। हुँदाहुँदै दिनदिनै त्यस परिवर्तनसँग गाँसिएर गृहकलह आउन थाल्यो। त्यसैको नतिजास्वरूप उनीहरू पारपाचुकेको ढोकासम्म पुगे।

अन्तत: पारपाचुके भयो। त्यसपछि सत्याको पूर्वपतिले बिहा गरेको समाचार पनि उसले सुनी । सम्बन्धबिच्छेद भइसकेकै भए पनि ऊ सत्याको चासोको विषय थियो। खुलेरै चासो देखाउन उसलाई हीनत्वबोध हुने भए पनि सत्याको अन्तरेच्छा भने ‘त्यो केटी’ एकपल्ट हेर्ने नै थियो।

एक दिन एउटा समारोहमा उससँग भेट भयो। उसले सत्यालाई नचिनेजस्तो पनि गर्न खोजेको थियो, तर सत्याले नै उससँग जबर्जस्ती आत्मीयता प्रदर्शन गरेकी थिई।

‘तपाईँले बिहे गरेको सुनेँ। खुशी लाग्यो। तपाईँको सुखद् दाम्पत्यजीवनको कामना गर्दछु । अनि तपाईँकी पत्नीसँग परिचय गराउनु हुन्न ?’ सत्याले आफ्नो कौतूहल रोक्न नसकी चारैतिर आँखा डुलाएकी थिई।

‘मैले एउटी कुमारी केटीसँग बिहे गरेँ। ऊ यहीँ छे, ए,अनुपमा !’ उसले गर्वित हुँदै अलिपर गफ गर्दै गरेकी युवतीलाई डाकेको थियो। नजिक आएपछि उक्त युवती र सत्याका आँखा जूधे ‘ऊ सत्याकै सखी अनुपमा थिई।

लघुकथा सङ्ग्रह बयान, २०५५ बाट साभार

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय