नेपालीले बनाएको सामाजिक सञ्जाल ‘आफन्त’, जहाँ जागिर खोज्नेदेखि सामान किनबेच गर्न पाइने

नेपालीले बनाएको सामाजिक सञ्जाल ‘आफन्त’, जहाँ जागिर खोज्नेदेखि सामान किनबेच गर्न पाइने

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ: नेपालीहरूले निर्माण गरेको सामाजिक सञ्जाल ‘आफन्त’ एप सार्वजनिक भएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री कार्यालयका सचिव डा.बैकुण्ठ अर्यालले ‘आफन्त’ एप सार्वजनिक गरेका छन्। वेवसाइट तथा एप दुवै माध्यममा यो उपलब्ध छ।

अन्य सामाजिक जस्तै ‘आफन्त’ एपमा तस्विर, भिडिओहरु पोस्ट गर्न सकिनेछ। लेख, ब्लगहरु पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ। अन्य सामाजिक सञ्जाल भन्दा ‘आफन्त’ एपको फरक विशेषता के छ भने यस प्लेटफर्ममार्फत तपाईले आफ्नो कुनै उत्पादन बिक्री गर्न सक्नुहुनेछ। यस एपले बिक्रेता र क्रेतालाई जोड्ने पुलका रुपमा काम गर्नेछ।

‘आफन्त’ एपलाई नेपालीहरूको अनलाइन साझा चौतारी बनाउन खोजिएको यसका सञ्चालक तथा प्रमुख सम्पादक तेजप्रसाद ढकालले बताए। ‘यस एपमा सबै नेपालीहरुलाई जोडेर व्यापार गराउने उद्देश्य रहेको छ।’ ढकालले भने ‘यसलाई अझै परिष्कृत गर्दै लैजानेछौँ।’ प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले ‘आफन्त’ एपलाई सरकारका तर्फबाट सहयोग रहने बताएका छन्। ‘एपहरुको भीडमा यो त्यत्तिकै नहराओस्। उत्पादन, बजार, उद्यमीहरूलाई जोड्न सकोस्। प्रयोगकर्ताहरुलाई सजिलो होस्।’ डा. अर्यालले भने।

‘आफन्त’ एपले रोजगार दिने र कामको खोजीमा रहेकालाई पनि सहयोग पुर्याउनेछ। यस प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ। जागिरको खोजीमा रहेकाहरुले पनि आफूलाई उपयुक्त लागेको भ्याकेन्सीमा एप्लाइ गर्न सक्नेछन्। ‘साना उद्यमीहरूका लागि यो राम्रो प्लेटफर्म हो।’ एनपीइडीसीकी अन्जना ताम्राकारले भनिन्, ‘उद्यमीले बजार नपाउदा समस्या भोगिरहेका छन्। यो एकदमै ठूलो अवसर हो।’

‘आफन्त’ एप साँच्चिकै उपयोगी भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले बताए। नेपालीहरुलाई जोड्ने यो एप जति बढी प्रयोग गर्न सक्यौं, त्यति फाइदा छ। जोशीले भने ‘यो सञ्जालबाट देशका कुनाकाप्चामा उत्पादन भएका सामान बेच्न सकिन्छ।’ गाउँघरमा उत्पादन भएका वस्तु तथा सामानहरु यस प्लेटफर्ममार्फत बेच्न सकिने आफन्त नेपाल प्रा. लि.ले बताएको छ। आम नेपालीहरुको उद्यम व्यवसायलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ, ‘त्यसमा जोड दिन्छौं ।’ आफन्त नेपालका सञ्चालक ढकालले भने, ‘संघीय, प्रदेश, स्थानिय सरकारसँग मिलेर अगाडी बढ्ने योजना छ।’

यो एप एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टममा डाउनलोड गर्न सकिन्छ। एप बिना पनि ब्राउजरमा आफन्त डटकममा गएर पनि यसको प्रयोग गर्न सकिन्छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय