काठमाडौं । विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेको भन्दै असन्तुष्टहरू निर्वाचन आयोग पुगेका छन्।
पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वर्तमान महामन्त्री धवलशम्शेर राणा, अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलगायतका नेता अहिले आयोगसँग छलफलमा छन्।
शनिबार भएको छुट्टै भेलाको निर्णय अनुसार संस्थापनइतर समूह निर्वाचन आयोग पुगेको हो। शनिबारको भेलाले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो। उनीहरूले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन् ।
केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।





