रसुवामा गएको बाढीमा परेर बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको छ ।
उद्धारका क्रममा बाढीमा बेपत्ता भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेपछि मृत्यु हुनेको संख्या ९ पुगेको हो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार बाढीमा अझै १९ जना बेपत्ता छन् । उनका अनुसार दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै, ५७ जनाको उद्धार भएको प्रहरीले जनाएको छ । बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो ।
बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । बाढीले रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति पुर्याएको छ ।





