प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२ पारित भएको छ ।
सभाको शनिवारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानुन र सरकारको धारणा स्पष्ट रहेको बताए । उनले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउन नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भीर रहेको बताए ।
उनले संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानुन निर्माणको तयारीमा सरकार जुटेको पनि बताए ।
उनले भने ‘नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् । र पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरमा संविधान, कानुन र सरकार स्पष्ट छ । नागरिकता अत्यन्त संवेदनशील विषय हो । नेपालको नागरिकता पाउनुपर्ने मानिसले नागरिकता पाउनुपर्छ, पाउन नहुने मानिसले पाउनुहुन्न । यसका विषयमा दुबिधा हुन सक्दैन । संविधानले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । उनीहरुले प्राप्त गर्ने नागरिकता पनि आफैँमा नागरिकता हो । हामीले अरु नागरिकताकाबारेमा पनि केही सीमाहरू तोकेका छौँ । गैरआवासीय नागरिकता प्राप्त गर्ने मानिसले नेपालमा आर्थिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न पाउने भनेर व्यवस्था गरेको छ ।’
नागरिकताको विषयमा रहेका विवाद र समस्या समाधान गर्नको लागि सरकारले नागरिकता विधेयक संशोधन गरेको हो ।





