नेपाली काँग्रेसका सांसद तथा पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बन भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) खरिद प्रकरणमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा बस्नेतसहित १६ जनाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा तत्काल पद स्वतः निलम्बन हुने व्यवस्था छ। सोही प्रावधानअनुसार मुद्दा दायर भए लगत्तै बस्नेतको सांसद पद निलम्बन भएको हो।




