लिङ्देनको चेतावनी- बालुवाटारको भात पानी बन्द गर्दिन् सक्छौं

लिङ्देनको चेतावनी- बालुवाटारको भात पानी बन्द गर्दिन् सक्छौं

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफूहरूलाई निषेधको राजनीति गरेको आरोप लगाएका छन् । काठमाडौंको बल्खुमा आज (मंगलबार) पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूलाई भृकुटीमण्डपमा सभा गर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुरे रहेछ भन्ने देखाउन बल्खु आएको बताएका छन् ।

‘राप्रपालाई बल्खु, सिफल, कलंकी जता जाऊँ भन्यो राप्रपा पछि हट्यो भन्ने नठान्नु होला । हाम्रो शान्ति र अहिंसालाई कमजोरी नठान्नुहोस् केपी ओली र रमेश लेखकज्यू,’ लिङ्देनले भने, ‘हामी राजतन्त्र, हिन्दू राष्ट्र र संघीयता खारेजीको माग राखेर चुनावमा जाँदा पाँचौं भएको पार्टी हौं । भृकुटीमण्डपमा आमसभा गर्दा ढल्ने कस्तो गणतन्त्र हो ? यसैले तपाईहरूको गणतन्त्र कति लुरे रहेछ भन्ने देखाउन बल्खु आएका हौं । हामीले आह्वान गरेर यस्तो जुलुस चारैतिरबाट आए कसले छेक्छ ? बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौं ।’

केही हजार मान्छेको र्‍याली निस्कन्छ भनेर सरकार डराएको उनको आरोप छ । उनले भने, ‘हामी शान्तिपूर्ण प्रदर्शन नै चाहन्छौँ । तर हामीले चारतिरबाट जुलुस हेल्दिने हो भने के हुन्छ । हामीले बालुवाटारलाई चारतिरबाट घेरा हालेर भातपानी बन्द गर्दिन सक्छौँ ।’ राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई तत्काल रिहा गर्न उनले माग गरे । त्यस्तै राजा चाहिने भन्नेलाई थुन्ने हो भने लाखौं मानिसलाई थुन्न जेल खाली गर्न पनि उनको माग छ ।

‘शान्तिको कुरा गर्दा हामीलाई हेप्ने र हाम्रो कमजोरी ठान्ने हो भने तपाईहरूसँगै सल्लाह गरौंला,’ उनले भने ‘एउटा भरुवा बन्दुक र केही घरेलु हतियार बोकेर युद्ध थालेको माओवादीले देशलाई कहाँ पुर्‍यायो । के राजा चाहिनका लागि २-४ हजार मानिस जंगल पस्नलाई तयार छैनन र ? तर, हामी शान्तिको पक्षधर हौं ।’ उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए । राप्रपाले प्रदेशस्तरमा गरिरहेको सभामध्ये देशभर ६ वटा सभा सम्पन्न गरेर मंगलबार बागमती प्रदेशस्तरीय सभा काठमाडौंमा गरेको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय