प्रेम विवाहको विषयमा झडप हुँदा १९ जना घाइते, प्रहरीको गाडी र गोदाम समेत जलाइयो

प्रेम विवाहको विषयमा झडप हुँदा १९ जना घाइते, प्रहरीको गाडी र गोदाम समेत जलाइयो

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चारजना घाइते भएको प्रहरीले जनाएको छ । झडपमा घाइते भएका पाल्हीनन्दन गाउँपालिका–३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

धवलको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । केटीपक्षका सोवराती पवरियाले चलाएको लु १ त ७७०० नम्बरको पिकअपले ठक्कर दिँदा धवल गम्भीर घाइते भएका हुन् । धवलको पेटमा चोट लागेको छ । धवलसँगै सोही स्थान बस्ने ४५ वर्षीय बैजनाथप्रसाद लोनियलाई पनि गाडीले ठक्कर दिएको हो । लोनियको दुवै खुट्टामा चोट लागेको छ ।

प्रहरीले घटनालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रु ग्यास र तीन राउण्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । केटाकेटीको प्रेम सम्बन्धलाई लिएर सुरु भएको विवादले झडपको रुप लिएको थियो । केही दिनअगाडि एक स्थानीय केटा र केटीबीच भागी विवाह भएको थियो । पछि दुवै जनालाई प्रहरीले छलफलपश्चात् अभिभावकको जिम्मा लगाएको थियो । तर केही दिनपछि उनीहरु फेरि भागेपछि दुई परिवारका बीचमा मनमुटाव सुरु भएको हो ।

सोमबार केटीपक्षले केटाका दाइलाई कुटपिट गरेका थिए । सोही विषयमा आज झडप भएको हो । केटापक्षका सयौं मान्छेहरु मोहरम पवरियाको घर घेर्न आउँदा ढुङ्गा हानाहान भएको थियो । पवरियाको कवाडी सङ्कलन स्थलमा पनि आगजनी भएको छ । केटी पक्षका सोवराती पवरियाले केटापक्षका मान्छेलाई गाडीले ठक्कर दिएपछि झडपले उग्ररुप लिएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक पवरिया र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाकोे सम्बन्धमा सोधपुछका लागि प्रहरीले चार महिलालाई नियन्त्रणमा लिएको जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय