काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बागलुङको इन्चार्जमा कमल घिमिरेलाई जिम्मेवारी दिएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको इन्चार्जमा बागलुङको बडिगाडका कमल घिमिरेलाई जिम्मेवारी दिएका हुन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले अध्यक्ष माधवकुमार नेपालबाट पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।
उनले भने ‘अहिले पार्टीले मलाई विश्वास गरी जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको छ । मैले यसलाई अवसरको रुपमा लिएको छु । पार्टीको हितमा धेरै समय खर्चेर नतिजा आउने गरी काम गर्छु।’
घिमिरे २०४४ सालबाट विद्यार्थी राजनीतिमा संगठित भई २०४६ सालको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । २०४७ सालमा अनेरास्ववीयू पाँचौं बागलुङको जिल्ला उपाध्यक्षसमेत भएका घिमिरे २०४९ मा अनेरास्ववियु ( पांचौं) को धवलागिरी अञ्चल कमिटीको उपाध्यक्ष भएका थिए ।
२०५१ साउनदेखि लगातार २०६१ सालसम्म नेकपा एमाले पार्टीको पूर्णकालिन राजनीतिमा सक्रिय उनी २०५१ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं ३ को पार्टी सचिवको समेत जिम्मेवारी सम्हालेका थिए । २०५४ को स्थानीय निर्वाचनमा जनप्रतिनिधि भएर समेत काम गरेका उनी २०५६ को संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारकाे रूपमा सिफारिस भएका थिए ।
२०६४ र २०७० को निर्वाचनमा बागलुङमा सक्रिय भुमिका निर्वाह गरेका घिमिरे २०७४ को निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा सिफारिस भएका थिए ।
२०७९ को संसदीय निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेवदारमा सिफारिस भएका घिमिरे २०५४ को नेकपा (एमाले)को छैठौं अधिवेशनमा प्रतिनिधि रुपमा सहभागी भएका थिए । २०८१ असार १६-२० गतेसम्म भएको नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।





