रवि लामिछानेको थुनछेक बहस आजबाट

 रवि लामिछानेको थुनछेक बहस आजबाट

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछानेको थुनछेक बहस आज (मंगलबार) बाट हुने भएको छ ।

थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण आज मात्र उनको बयान हुने भएको हो । हिजो उनी संघीय संसदको सांसद पदबाट निलम्बन भएका थिए ।

कास्की अदालतको इजलासले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औं दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ । गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय