लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । 

विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरवार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । 

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दी गृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बिपी सङ्ग्रहालयका रूपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ । 

आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रूपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली काँग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय