प्रधानमन्त्री केपी ओलीले आइतबार झापाको दमक नगरपालिका– ३ मा बनेको १८ तले भ्यु टावरको उद्घाटन गरेका छन् । निर्माण सम्पन्न हुँदासम्म सहरी विकास मन्त्रालयले दमक भ्यु टावरको नाममा बजेट विनियोजन गरेको थियो । तर, भ्यु टावरको आलोचना भएपछि भने उद्घाटनका क्रममा नाम फेरेर दमक व्यापारिक कम्प्लेक्स राखिएको छ ।
उद्घाटनका क्रममा ओलीले ‘भ्यु’ मात्र हेर्ने टावर भनेर आलोचना गरे पनि यो व्यापारिक कम्प्लेक्स भएको बताए । उनले शिलान्यास गर्दा दमक भ्यु टावरको नाममा शिलान्यास गरेका थिए । यसको आलोचनापछि भने सहरी विकास मन्त्रालय यसको नाम दमक व्यापारिक कम्प्लेक्स राखेर उद्घाटन गरेको छ ।
ओलीले भ्यु टावर उद्घाटन ठुलो कार्यसफलता भएको दाबी गरे । उनले यस्तो अग्लो व्यापारिक कम्प्लेक्स देशभर कतै नभएको पनि बताए । ‘यस्तो ठुलो व्यापारिक कम्प्लेक्स देशभर कतै छैन । पहिला बुझ्नलाई समय लाग्छ,’ उनले भने, ‘मलेसियामा टुइन टावर बनाउँदा माथिरको आलोचना गरे । दुबईमा बुर्जखलिफा बनाउँदा पनि आलोचना भयो । अहिले टुइन टावर मलेसियाको प्रतिमा बनेको छ, आज महŒव बुझ्दै छन् ।’
व्यापारिक कम्प्लेक्स दमक र झापाकै पहिचान बन्ने ओलीले दाबी गरे । भ्यु टावरले विकासका सम्भावना खुल्ने दाबी गर्दै उनले दमकलाई स्मार्ट र आधुनिक सहर बनाउने बताए । अब यहाँका मानिस हङकङ, स्विट्जरल्यान्डजस्ता मुलुक घुम्न जान नपर्ने उनले बताए । दमक बजारमा ल्यान्डपुलिङ र हाउसपुलिङको सम्भावना नभएकाले आफूले भ्यु टावर सहरभन्दा केही टाढा गाउँमा बनाएको पनि दाबी गरे । ‘यो व्यापारिक कम्प्लेक्स जब चल्छ अनि हेर्नुहोला कस्तो रहनेछ, के दिनेछ । यसले अझ चिज दिनेछ,’ उनले भने, ‘हामीले यसलाई मणि बनाएका छौँ, ढुंगा बनाएर फाल्दैनौँ ।’
ओलीले डेढ अर्बभन्दा बढी लागतको भ्यु टावर उद्घाटन गरिरहँदा भ्यु टावरसम्म पुग्ने धुलाम्मे र कच्ची सडकको यात्रा गर्दै स्थानीय आइपुगेका थिए । उद्घाटनका समयमा धुलो उड्छ भनेर पानी हालिएको थियो । २६ असार ०७६ मा ठेक्का सम्झौता भएको भ्यु टावरको निर्माण गत वर्षको माघमा सकिएको थियो । यसको निर्माणको जिम्मा चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले लिएका थिए । निर्माण सम्पन्न हुँदासम्म एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ खर्च भएको सहरी विकास मन्त्रालयले जनाएको छ । यो कम्प्लेक्समा दृश्यावलोकनसँगै व्यापारिक, व्यावसायिक, मनोरञ्जनात्मक र कर्पोरेट कार्य हुने सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए ।
भ्यु टावरको प्रवेशसँगै मनोरञ्जनात्मक बगैँचा तथा बालबालिकाका लागि खेल्ने स्थान रहेको उनले बताए । भ्यु टावरमा ४० वटा चारपांग्रे सवारी र दुई सयवटा दुईपांग्रे सवारी पार्किङ गर्न मिल्ने सिग्देलले बताए । भ्यु टावरको पहिलो तलादेखि तेस्रो तलासम्म कमर्सियल रिटेल स्पेस, पाँचौँदेखि नौ तलासम्म कर्पोरेट स्पेस, दसौँदेखि १३औँ तलासम्म एक्जिबिसन र ग्यालरी तथा १४औँ र १५औँ तलामा रेस्टुरेन्ट र क्याफे चलाउन मिल्ने उनले बताए । त्यहाँदेखि माथि दृश्यावलोकन गर्न सकिने सिग्देलको भनाइ छ । यो कम्प्लेक्स स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दृष्टिकोणको आधार भएको बताए । नयाँपत्रिका दैनिकमा समाचार छ ।





