सोफा उत्पादक संघ नेपालको अध्यक्षमा पुन: धरेल

सोफा उत्पादक संघ नेपालको अध्यक्षमा पुन: धरेल

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सोफा उत्पादक संघ नेपालको अध्यक्षमा तारालाल धरेल चयन भएका छन् ।

शनिवार काठमाडौंमा भएको सोफा उत्पादक संघ नेपालको पहिलो साधारणसभाले धरेललाई पुनः अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दीपेन्द्र धरेल, कोषाध्यक्षमा महेशराज थापा चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्त, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै सर्वसम्मत चयन भएका छन् ।

सर्वसम्मत चयन भएका कार्यसमितिलाई रास्वपाका उपसभापति डीपी अर्यालले खादा ओढाएर बधाई तथा शुभकामना दिएका छन् ।

त्यसैगरी साधारणसभामा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोफासहितका नेपाली उत्पादनलाई सरकारी कार्यालयमा प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री निवास बालुवाटारमा विदेशी सोफा रहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘बालुवाटारमा विदेशी सोफा रहेछ । कम्फर्टटेबल पनि छैन त्यो । त्यो सोफा विस्थापित गरेर स्वदेशी राख्नुपर्ने आवश्यकता छ ।’

उनले केही अघिसम्म विदेशी सोफाको दबदबा रहेको अवस्थामा अहिले नेपाली स्तरीय सोफाहरु नेपालमै उत्पादन हुन थालेको जानकारी आफूले पाएको उल्लेख गर्दै सोहीअनुसार सिंहदरबारदेखि बालुवाटार र सिंहदरबारसम्मका सरकारी कार्यालयमा मात्रै प्रयोग भए व्यवसायीमा पनि प्रोत्साहन मिल्ने धारणा राखे । उनले फर्निचरको कुरा गर्दैगर्दा स्वदेशी काठका पनि सही प्रयोग गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने धारणा राख्दै पुराना ऐन कानुनका कारण समस्याहरू उत्पन्न भएकाले त्यसलाई समयसापेक्ष परिमार्जन गर्दै लगिनुपर्ने धारणा राखे । उनले राज्यले आर्थिक विकास र समृद्धिका लागि आवश्यकताका आधारमा लगानी गरेर उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनीले सरकारी कार्यालयहरूमा स्वदेशी उत्पादन प्रयोग हुनुपर्छ भन्नेमा आफू पनि रहेको भन्दै त्यसतर्फ लाग्नुपर्नेमा धारणा राखे । आत्मनिर्भर अर्थतन्त्र विकास गर्न राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उनले डढेलो नियन्त्रण तथा चार कोसे क्षेत्रमा काठका स्रोत खेर गइरहेकाले त्यसलाई सदुपयोग गर्ने नीति लिनुपर्ने पनि बताए ।

कार्यक्रममा अध्यक्ष धरेलले काठमाडौँमा मात्रै १०० को हाराहारीमा सोफा उत्पादकहरू रहेको र देशभरमा करिब २०० को हाराहारीमा रहेको जानकारी दिए । उनले यसबाट करिब १० हजारले प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी पाएको दबी गर्दै आफूहरूको समस्यामा सहजीकरणका लागि राज्यका निकायलाई अनुरोध गरे । सो अवसरमा तारालाल देवकोटा, विष्णुहरि लामिछानेलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यता तथा चेम्बर अफ कमर्सका उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ, नेपाल फर्निचर तथा फर्निसिङ संघका उपाध्यक्ष राममणि गैरे, रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमला, नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनी, रास्वपाका उपसभापति डीपी अर्याल लगायतको उपस्थिति थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय