विपिन जोशी जीवित छन् : इजरायली राजदूतावास

विपिन जोशी जीवित छन् : इजरायली राजदूतावास

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन् ।

आज (बिहीबार) राजधानीमा पत्रकारहरूसँगको छलफलमा राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताएका हुन् ।

‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन् । तर, उहाँलाई कहाँ राखिएको छ र अहिले उहाँ कुन अवस्थामामा हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन,’ उनले सुनाए । ‘हामी उहाँ चाँडै नेपाल फर्कनु हुने आशा गर्छौं । उहाँ अपहरणमा परेका कैयौँ व्यक्तिहरूमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ ।’

राजदूतावासका अनुसार हमास लडाकुहरूको कब्जामा १०० भन्दा बढी इजरायली र विदेशी नागरिक अझै पनि बन्धक छन् । ‘म जोशीको परिवार र अन्य व्यक्तिहरूले उहाँको बारेमा कस्तो महसुस गरिरहनु भएको छ भनेर बुझ्न सक्छु । विपिन धेरै महत्वपूर्ण हुनुहुन्छ । तर, हामीले बुझ्नुपर्छ, विपिन जस्ता अरू पनि धेरै छन्,’ उनले भने ।

सन् २०२३ अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभलमा सहभागी सबैलाई र वरपरका क्षेत्रमा बस्नेहरूमाथि हमास लडाकुहरूले आक्रमण गर्दा इजरायलमा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत रहेका १० नेपाली विद्यार्थीको क्रुर हत्या भएको थियो । ११औं विद्यार्थी विपिन जोशीलाई हमासले अपहरण गरेका थिए ।

राजदूतावासका अनुसार इजरायली सरकारले मारिएका ती नेपाली विद्यार्थीका परिवारलाई इजरायली नागरिकका परिवारले जस्तै आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । उनले नेपालका विद्यार्थीहरू फेरि इजरायलको ‘अर्न एन्ड लर्न’ कार्यक्रममा सहभागी हुने आशा पनि व्यक्त गरेका छन् ।

नेपालले हालको युद्ध अवस्थालाई ध्यानमा राख्दै कृषि विद्यार्थीलाई उक्त कार्यक्रमअन्तर्गत इजरायल पठाउन रोकेको छ। तर, मलावी, कङ्गो र थाइल्याण्डका विद्यार्थीहरूले उक्त कार्यक्रमअन्तर्गत इजरायल फर्कन सुरु गरिसकेको जानकारी दिँदै राजदूतले भने, ‘इजरायली कृषिकर्ताहरू नेपाली विद्यार्थीहरूलाई फिर्ता ल्याउन चाहन्छन्, जहाँ उनीहरूले सिक्न र कमाउन सकुन् । हामी यो कार्यक्रम चाँडै पुनः सुरु हुने अपेक्षा गर्दछौं ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय