एक कविको भविष्यवाणी: यो ढोंगी र आडम्बरी समाजले ओशोलाई मारेरै छोड्यो

एक कविको भविष्यवाणी: यो ढोंगी र आडम्बरी समाजले ओशोलाई मारेरै छोड्यो

म विश्वासपूर्वक भन्न सक्छु, तिमी यति सुन्दर, साहसी र विद्रोही छौ कि यो दुनियाँले तिमीलाई बुझ्ने र पचाउनेछैन । मलाई डर छ, तिमी मारिनेछौ ।

साहसी खबर
5 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

आफ्नो जीवनको विभिन्न कालखण्डमा ओशो भिन्नभिन्न नामले चिनिनुभयो । विद्यार्थीकालमा रजनीशचन्द्र मोहन, प्राध्यापक भइसकेपछि आचार्य रजनीश, शिष्यहरूका लागि सन्यास दीक्षा शुरू गरिसकेपछि भगवान् श्री रजनीश र अन्तिम दिनहरूमा उहाँ ओशोको नामले विश्व प्रसिद्ध हुनुभयो । शब्दातीत ओशोलाई शब्दमा सीमित गर्न जति दुरूह भए तापनि उहाँबारे केही शब्द लेख्न या बोल्न मलाई अति सुखद लाग्छ ।

हाम्रो संस्कृतिमा प्रसिद्ध कथन छ- हरि अनन्त, हरिकथा अनन्ता । सन्त पुरूषहरूबारे जति लेखे पनि, जति बोले पनि उहाँको व्यक्तित्वलाई शब्दमा अटाउन सकिँदैन । जब-जब म समाधिस्थ व्यक्तिहरूको जीवनलाई शब्दमा उतार्ने प्रयास गर्छु, उहाँको जीवनचरित्रले सत्मार्गमा हिंड्न मलाई ठूलो प्रेरणा दिन्छ । उहाँहरूको सत्यप्रतिको निष्ठा, मुमुक्षा र सहजपनले परम जागृति र मुक्ति मार्गमा लाग्न झक्झकाइरहन्छ ।

केही वर्षपछि मानिसलाई ओशोजस्ता व्यक्ति यही मनुष्य शरीरमा थिए र एक्लो व्यक्तिले संसारका सबै प्रकारका पाखण्डविरूद्ध विद्रोहको शङ्खनाद गरे भन्ने विश्वास गर्न कठिन हुनसक्छ । ओशो जति विद्रोही र क्रान्तिकारी हुनुहुन्थ्यो, उति नै सृजनशील र कलात्मक पनि । उहाँले संसारका सबै धर्म र बुद्धपुरूषका वचनलाई पुनर्जागृत र पुनर्व्याख्या गर्नुभयो । ७ सय पुस्तकको रचना र ६ सयभन्दा बढी रूपान्तरणकारी सुन्दर ध्यानपद्धति विकास गर्नुभयो ।

आफ्नो जीवनकालमा ओशो अगम्य र विवादास्पद रहनुभयो । धार्मिक व्यवसायीहरूले उहाँको विरोध गर्न कुनै कसर छोडेनन् । अन्ततः उहाँको हत्या पनि गरे तर सौन्दर्य उपासक, कलापारखी ओशोलाई भारतवर्षका मूर्धन्य चिन्तक र कलाकारले उहाँको जीवनकालमै मुक्तकण्ठले प्रशंसा गरे।

हरिप्रसाद त्यसमा केही प्रसिद्ध व्यक्तिहरू हुन्- अमृता प्रितम, खुशवंत सिंह, चौरसिया, कल्याणजी-आनन्दजी, पण्डित जसराज, राजन-साजन मिश्र, एम. वि. कामथ, गुलजार, कन्हैयालाल नन्दन, महाकवि गोपालदास निरज, राम जेठमलानी इत्यादि । आज पनि पूर्वाग्रहबाट मुक्त संसारभरिका स्वतन्त्र चिन्तक र सच्चा आध्यात्मिक अन्वेषकहरू उहाँको प्रज्ञा र सहासबाट आश्चर्यचकित छन् । नेपाली बौद्धिक वर्गको ठूलो सङ्ख्या ओशोका नियमित पाठक छन् ।

जीवनको अन्तिम कालमा भारतका एक सुप्रसिद्ध कवि हरिवंश राय बच्चनले आफ्ना एक मित्रलाई पठाएको पत्रमा लेखेका थिए, “हिजो म ७३ वर्षमा प्रवेश गरें । स्वास्थ्य अवस्थाअनुसार छोटामोटा कयौं रोग लागेका छन् र त्यसको चिकित्सा गरिरहेको छु तर निको नहुन सक्ने एक आश्चर्यजनक रोगले मलाई पक्रेको छ । त्यो रोग हो- रजनीशाइटिस् । वर्षौंदेखि म रजनीशलाई पढिरहेको छु । तापनि मैले उनलाई नाप्न र पूरै बुझ्न सकिरहेको छैन ।

बच्चन अगाडि लेख्छन्, “ओशोको संभोग से समाधि की ओर पुस्तक एक उच्चकोटिको पुस्तक हो । यसलाई सबैले पढ्नैपर्छ । खास गरेर नौजवानहरूले । यो पुस्तकलाई कलेज, विश्वविद्यालयमा एक मुख्य विषयको रूपमा पढाउनुपर्छ । यो यस्तो एक पुस्तक हो, जसलाई आमाबुबाले आफ्ना छोराछोरीको विवाहमा उपहारको रूपमा अवश्य दिनुपर्छ । यो हरेक घरमा हुनुपर्छ । यो पुस्तकबारे मैले जति बताए पनि कमै हुन्छ ।”

सन् १९६९ मा कवि बच्चनले दिल्लीको एक साहित्यिक कार्यक्रममा ओशोलाई दोस्रोपटक भेटे । त्यति बेला ओशो आचार्य रजनीशको नामले चिनिनुहुन्थ्यो । ओशो पनि सो कार्यक्रममा वक्ताका रूपमा निम्त्याइनुभएको थियो । बच्चनले ओशोलाई केही महिनाअघि भेटिसकेका रहेछन् र
ओशोका विस्मयकारी उपस्थिति र प्रज्ञाबाट अभिभूत भइसकेका थिए । आफ्नो आत्मकथामा उनले त्यो प्रथम भेटलाई यसरी सम्झेका छन्, ‘उनी पैतीसको हाराहारीमा थिए । सुगठित सुन्दर शरीर, ठूला भेदनयुक्त आँखाले उनको भित्री गरिमाको आभास दिन्थ्यो । उनी स्वतन्त्र र स्पष्टवक्ता थिए ।”

हरिवंश राय बच्चनको ख्याति एक लोककविका रूपमा भारतभरि फैलिसकेको थियो । उनको भावुक कवि हृदय ओशोका आग्नेय र विद्रोही अभिव्यक्तिबाट विस्मित भयो । जब उनको बोल्ने पालो आयो, उनी ओशो बसेको नजिकै गए र भावुक भएर माइकबाट उद्घोष गरे, “रजनीश, म तिमीजस्तो रहस्यदर्शी होइन । म केवल कवि हुँ । त्यसैले भविष्यवाणी गर्न सक्दिनँ तर यो म विश्वासपूर्वक भन्न सक्छु, तिमी यति सुन्दर, साहसी र विद्रोही छौ कि यो दुनियाँले तिमीलाई बुझ्ने र पचाउनेछैन । मलाई डर छ, तिमी मारिनेछौ ।”

ओशोले पनि तुरून्तै जवाफ दिनुभयो, “बच्चनजी ! सामान्य व्यक्तिजस्तै अस्पतालको बेडमा मर्ने मेरो पनि इच्छा छैन । यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु । यहाँ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ । म मारिएँ भने मेरो हत्याले मेरा भनाइलाई अझ प्रमाणित नै गर्नेछ । गान्धी, जिसस र सुकरातको हत्या नगरिएको भए उनीहरूको सन्देश यति व्यापक हुने थिएन । म आफ्नो जीवनलाई समाज रूपान्तरणका लागि उपयोग गरिरहेको छु र आवश्यक परे, यसै लक्ष्यका लागि मेरो मुत्युको पनि उपयोग हुनेछ ।”

आश्चर्य मान्नुपर्छ कि त्यो प्रसिद्ध कविले भावातीत निर्दोष अवस्थामा दिएको अभिव्यक्ति भविष्यवाणी नै सिद्ध भयो । संसारको सबैभन्दा ठूलो र सङ्गठित धर्म र संसारको सबैभन्दा शक्तिशाली राष्ट्र (अमेरिका) पनि एक निशस्त्र व्यक्तिबाट डरायो । यो ढोंगी र आडम्बरी समाजले ओशोलाई मारेरै छोड्यो ।

-बोधीसत्व स्वामी आनन्द अरुणले लेख्नु भएको पुस्तक “ओशो अचम्म जो मैले देखे” बाट साभार गरिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय