नक्कली गहना दिएर १८ लाख ठगेको आरोपमा बागलुङकी एक महिला पक्राउ

नक्कली गहना दिएर १८ लाख ठगेको आरोपमा बागलुङकी एक महिला पक्राउ

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : नक्कली सुनका गरगहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन के.सी.का अनुसार बागलुङ नगरपालिका–१४ की ३० बर्षिया मिना के. सी. खड्का पक्राउ परेकी हुन् ।

खड्काले २०७९ सालको साउन महिनादेखि विभिन्न मितिमा आफूलाई पैसा आवश्यक परेकोले आफूसँग भएका गरगहानाहरु दिएर सोही ठाउँका सूर्य बहादुर खड्कासँग १८ लाख रुपैयाँ लगेको प्रहरीले बताएको छ ।

मिनाले फेरि पनि पैसा आवश्यक परेकोले थप गरगहना राखेर दुई लाख रुपैयाँ दिन भन्दै २०७९ फागुनमा सूर्यसँग पैसा मागेकी थिइन् । फेरि पनि गहना दिएर पैसा सापटी लिन खोजेपछि सूर्यले गरगहना सुनका नहुन सक्ने अनुमान गर्दै सुनचाँदी पसलमा जाँच गराएका थिए । १८ लाख रुपैयाँ दिने बेलासम्मका गहनाहरू सहित थप दुई लाख रुपैयाँ माग्ने बेलाका गहनाहरू समेत नक्कली भएको पाएपछि सूर्यले जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका थिए ।

त्यसैको आधारमा मिनालाई गत भदौ छ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बागलुङ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक के.सी.ले बताए ।

बागलुङ प्रहरीले सुनका गरगहनाहरू भनी नक्कली गरगहनाहरू देखाई रकम ठगी गर्ने व्यक्तिबाट जोगिनको लागि अनुरोध गर्दै बिलको लेनदेनबिना गरगहनाको कारोबार नगर्न तथा सुनको नाममा ठगी गरेको शङ्का लागेमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय