काठमाडौं । ओशो तपोवनले संस्थापक स्वामी आनन्द अरुणको ८२औं जन्मोत्सव मनाइएको छ। सोमबार ओशो तपोवनमा आयोजित एक कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो, जहाँ स्वामी आनन्दले जीवन र अध्यात्मसँगै समाजको वैकल्पिक संरचना र सम्भावनाबारे आफ्ना दृष्टिकोण साझा गर्नुभयो ।
स्वामी आनन्द अरुणले कार्यक्रममा बोल्दै भन्नुभयो, मार्क्स र लेलिनले कल्पना गरेको कम्युनिजमको स्वरूप आजसम्म कुनै पनि कम्युनिस्ट देशले लागू गर्न सकेनन्। तर ओशो तपोवनमा हामीले त्यो कम्युनको प्रारूपलाई जीवन्त रूपमा साकार गरेका छौँ। चीनमा कम्युनिस्ट पार्टीको सरकार छ, तर त्यहाँ पुँजीवाद हाबी भएको छ। यहाँ, ओशो तपोवनमा भने मार्क्स र लेलिनले कल्पना गरेको साँच्चिकै आत्मिक, सन्तुलित र समर्पित कम्युन अनुभव गर्न सकिन्छ।
स्वामीले नेपाललाई ‘तपोभूमि’को रूपमा चित्रित गर्दै लाखौँ विदेशी पर्यटकहरूलाई ध्यान केन्द्रित गराउने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनमत पार्टीका अध्यक्ष डा। सिके राउत, सांसद सुनिल शर्मा, माओवादी केन्द्रका नेता ओम शर्माका साथै पूर्व मुख्य सचिवहरू, वरिष्ठ प्रशासकहरू र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा स्वामी अरुण आनन्दको जीवनयात्रा, ध्यान साधना र विश्वभर आध्यात्मिक जागरणमा पु(याएको योगदानको समीक्षा गरिएको थियो ।
यसैबीच स्वामी आनन्द अरुणले भुटानमा आफूले बुद्धकालीन गुरुसँग पुनर्मिलन भएको दाबी गर्नुभएको छ । भुटानको राजपरिवारमा जन्मिएका ११ वर्षीय वैरोचन रिन्पोचेले आफू बुद्धकालीन ‘आनन्द’ भएको र स्वामी आनन्द अरुण त्यतिबेला आफ्ना शिष्य रहेको उल्लेख गर्दै दुई महापुरुषबीचको पुनर्मिलन भएको बताउनुभयो ।
भुटान सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय ध्यान सम्मेलनमा प्रमुख अतिथिका रूपमा आमन्त्रित स्वामी आनन्द अरुण ८०० सहभागीहरू माझ ध्यानको महत्वमाथि सारगर्भित प्रवचन दिनुका साथै ध्यानको अभ्यास गराउनुभएको थियो। सम्मेलन जुन ३ देखि ६ तारिखसम्म सम्पन्न भएको हो।
ध्यान सम्मेलनको क्रममा भएको एक विशेष अन्तरंग भेटमा स्वामी आनन्द अरुण र वैरोचन रिन्पोचेबीच पूर्वजन्मको स्मृति र आध्यात्मिक अनुभवहरूबारे गहन कुराकानी भएको दाबी गरिएको छ।
सो अवसरमा ध्यानको प्रचारबारे विचारविमर्श गर्दै स्वामी आनन्द अरुणले ओशोले ध्यानलाई अत्यन्त सरल बनाएको कुरा उल्लेख गर्नुभयो । उनले रिन्पोचेलाई ओशोका विभिन्न प्रवचनको संग्रह पेनड्राइभमार्फत प्रदान गर्नुका साथै “बुद्ध र ओशो स्वयंले मार्ग देखाउनेछन्” भन्ने विश्वास व्यक्त गर्नुभयो ।
भुटानको अनुशासित समाज, आध्यात्मिक चेतना र स्वच्छ वातावरणले पनि स्वामी आनन्द अरुणलाई गहिरो प्रभाव पारेको बताइएको छ। ध्यानयोगी, लेखक र ओशोका वरिष्ठ शिष्य स्वामी आनन्द अरुण विगत ५६ वर्षदेखि ओशोको सन्देश प्रचारमा क्रियाशील छन्।





