काठमाडौं । काठमाडौंको बुद्धनगरमा खाजाघर र पुलहाउस सञ्चालक गर्दै आएका एक व्यक्तिको हत्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले ४० वर्षीय रुपक बान्तवाको हत्या भएको जानकारी दिए।
अधिकारीका अनुसार गएराति करिब १ः४० बजे उनी खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा फेला परेका थिए । घाइते उनको उपचारको क्रममा गएराति अढाई बजे सिभिल अस्पतालमा उनको मृत्यु भएको हो।
बान्तवाले काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए।
उनको हत्या कसले र किन गर्यो खुलेको छैन । ‘घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त नयाँ बानेश्वरबाट आवश्यक अनुसन्धान भैरहेको छ,’ एसपी अधिकारीले भने।





