बागलुङ: न्यून आय भएको परिवार। खेतपाती केही नभएकाले उनले परिवार भारी बोकेरै पाले। ८/१० वर्ष पहिलेसम्म कुश्मा बजारबाट बागलुङको जैमिनी नगरपालिका १ कुश्मीशेरा बजारसम्म खाद्य सामग्री बोक्ने उनको दैनिकी थियो।
त्यही सामग्री बोकेर आउने ज्यालाले उनको परिवारमा चुल्हो बल्थ्यो। बागलुङ-कुश्मीशेरा सडक सञ्चालनमा आएसँगै उनको रोजगारी खोसियो। उनी हुन् जैमिनी नगरपालिका कुश्मीशेरा चित्रेली डाँडाका विष्णुप्रसाद शर्मा।
शर्माले भारी बोकेर जोडेको पैसाले सानो घर बनाएका थिए। अहिले उनको रोजगारी मात्रै खोसिएको छैन, दुःखसुखले बनाएको सानो बास पनि प्राकृतिक विपत्का कारण खोसिने गरेको छ। चित्रेलीडाँडामा दुःखले जोडेको घर २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले भत्कायो। गाउँका सबै घर सुरक्षित रहँदा बिष्णुको घरको धुरी भने भुइँमा बझारियो। संयोग घरबाट भागेर उनको परिवारले ज्यान बचाएका थिए।

भत्केको गाह्रोमा जस्तापाताले अठ्याएर ४ बर्खा विष्णुको ४ जनाको परिवारले बिताए। भुकम्प पुननिर्माण प्राधिकरणको अनुदानमा उनले पुनः घर त बनाए तर अब त्यही घर पनि विपत्तिले घेरिरहेको छ। चुल्होको डिलमा चुहिने पानी र बिस्ताराको नजिकैबाट बग्ने भल तर्काएको छ महिना नपुग्दै उनको घरको जगमा पहिरो पुगेको छ। गत बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण घरको जगनै बगाउनेगरी पहिरो गएको हो।
शुक्रबार बिहान गएको पहिरोका कारण घर जोखिममा परेको उनले बताए। अब नयाँ ठाउँ खोजेर नयाँ घर बनाउने अवस्था छैन। ‘बलेनीबाट भत्केर बारीको पाटामा पुगेको छ, घरको जगनै जोखिममा रह्यो,’ शर्माले भने ‘अन्यत्र घर बनाउने उपाय छैन, भएको घर बस्ने अवस्थाको रहेन।’
वर्षौंपछि बनेको घर पहिरोको जोखिममा परेपछि शर्माको परिवार बिचल्लीमा परेको छ। अहिले शर्मा दम्पत्तिले छोराहरुको पढाई र घर खर्च तथा बेला बेलामा आउने स्वास्थ्य समस्या टार्न मजदुरी गरेर आउने पारीश्रमिकले पुग्दैन्।
प्रकृतिले समेत पटक पटक आफूमाथि अन्याय गरेको शर्मा बताउँछन्। पानी परिरहेको बेला घरमा बस्नै नहुनेगरी जग भत्किएकाले शर्माले सहयोगको याचना गरेका छन्। उनको घरछेउमा गएको पहिरो हेरेर फर्किएका जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले सहयोग गर्ने आश्वासन दिएका छन्। ‘जेठमा नै आएको पहिरोले घर जोखिममा परेपछि सग्लो बर्खा के होला,’ पहिरो हेरेर फर्किएपछि स्थानीय विष्णु आचार्यले भने ‘तत्काल पहिरो नियन्त्रण वा परिवारलाई अन्यत्र सार्नुपर्ने देखियो।’
ढोरपाटन न्यूजबाट साभार




