बागलुङ: ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले धौलागिरी अस्पताल बागलुङलाई व्यक्तिगत रुपमा पाँच लाख रुपैयाँ आर्थिक सहित करिव ९ लाख रुपैयाँ बराबरकाे ३० थान (ठुलो) अक्सिजन सिलिन्डर सहयोग गर्नुभएको छ। नगर प्रमुख नेपालीले सहयोग रकम र अक्सीजन सिलिन्डर आज अस्पतालमै पुगेर, अस्पतालका अध्यक्ष केवी राना मगरलाई हस्तान्तरण गर्नुभएको छ।
कोरोना महामारीको समयमा अस्पतालहरुमा भएको अक्सीजन तथा औषधिको अभावलाई मध्यनजर गर्दै अस्पताललाई केही रुपमा भएपनि सहयोग पुगोस् भन्ने उद्धेश्यले राहत स्वरुप आर्थिक सहित अक्सीजन सिलिन्डर सहयोग गरेको नगर प्रमुख नेपालीले बताउनुभयो।

धौलागिरी अस्पतालमा बागलुङ जिल्लाका मात्र नभई छिमेकी जिल्लाहरु म्याग्दी, पर्वत लगायत स्थानका नागरिकहरु पनि उपचारका लागि आउने भएकाले अक्सीजन र औषधी अभावकै कारण कोही पनि संक्रमितले अकालमा ज्यान गुमाउन नपरोस् भन्दै आफ्नो क्षमता अनुसार सहयोगीका रुपमा अगाडी आएको नेपालीको भनाई छ।
धौलागिरी अस्पतालका अध्यक्ष राना मगरले महाविपत्तिले अप्ठेरो बेहोरिरहेका बेला नगर प्रमुख नेपालीले निकै ठूलो सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो।
नगर प्रमुख नेपालीले कोरोना महामारीका समयमा मात्र नभई अन्य समयमा पनि विभिन्न कारणले विपत्तीमा परेका गरीब तथा विपन्न परिवारका नागरिकहरु, विद्यालय, क्लव, आमा समुह लगायतका संघ-संस्थालाई विगत लामो समय देखि सहयोग गर्दै आउनुभएको छ।




