बागलुङ: प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन्।
थ्री नेसन्स कप उपाधि जित्न सफल टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक अलमुताइरीले टोली घोषणा गरेका हुन् । थ्री नेसन्स कप जित्दाका १० खेलाडीले मात्र राष्ट्रिय टोलीमा स्थान बनाउन सके । फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।
टिममा बागलुङ नगरपालिका-१०, भकुण्डेका कमल थापा समेत परेका छन्। मिडफिल्डर कमल नेपाली फुटबलमा नयाँ अनुहार होइनन् । एन्फा एकेडेमीका उत्पादन उनले नेपालका लागि उमेर समूहमा पनि खेलिसकेका छन् ।
विमल घर्ती मगर, अनन्त तामाङ, अन्जन विष्ट लगायत खेलाडीको ब्याचका उनले घरेलु फुटबलमा हिमालयन शेर्पाबाट खेल्दै आएका छन् । मिडफिल्डमा निकै छरिता उनमा कठिन अवस्थामा पनि उच्च कोटीको पास निकाल्न सक्ने क्षमता छ ।
एनएसएलमा उनलाई पोखरा थन्डर्सले भिषण गुरुङको स्थानमा ल्याएको थियो। भिषणलाई लिगअघि नै कोरोना संक्रमण भएपछि उनी अन्तिम तीन खेलमा उपलब्ध थिए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेपनि उनको खेल्ने शैलीबाट प्रशिक्षक प्रभावित भएर बन्द प्रशिक्षणमा परेका थिए।
प्रारम्भिक टोलीबाट प्रशिक्षक अलमुताइरीले ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ घोषणा गरेका हुन्। थ्री नेसन्स कपको टोलीबाट फरवार्डद्वय भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रन्जित धिमाल र निशान खड्काले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।
मिडफिल्डर कमलसहित सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन्।
यस्तै थ्री नेसन्स कप जित्दाका सदस्य रवी पासवान पनि अन्तिम २३ मा परेका छैनन्। यस बाहेक पहिलो पटक बन्द प्रशिक्षणमा परेका विवेक बस्नेत पनि टोलीबाट बाहिरिएका छन्। नितिन थापा, सेसेहाङ आङदेम्बे र अमित तामाङले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।
यसअघि प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा ३२ खेलाडीको नाम सार्वजनिक गर्दा नेपाल सुपर लिग (एनएसएल) विजेता काठमाडौं रेजर्सका कुनैपनि खेलाडी सुचिमा समावेश गरेका थिएनन्।
थ्री नेसन्स कपका दौरान रेजर्समा आबद्ध ५ खेलाडी राष्ट्रिय टोलीमा थिए। एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ, संजोक राई, छिरिङ गुरुङ र त्रिदेव गुरुङ प्रारम्भिक छनोटमै नपरेका हुन्।
नेपाल थ्री नेसन्स च्याम्पियन बन्दा रेजर्सकै प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए। त्रिदेवले भने चोटका कारण एनएसएल गुमाएपछि उनको स्थानमा छिरिङ टोलीमा आएका थिए। थ्री नेसन्स खेल्ने टोलीबाट सुजल श्रेष्ठ र अजित भण्डारी पनि प्रारम्भीक छनोटमा परेका थिएनन्।
प्रशिक्षक अलमुताइरीले प्रशिक्षण सुरु भएपछि एनएसएलका प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको बताएका थिए। राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ।
नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ। नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ। नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ।
समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन। अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०/१० अंक छ। नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ। विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ।
राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोली
गोलरक्षक: किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर: अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डर: एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा
साभार: रेडियो सारथी





