सागर भण्डारी,बाग्लुङ । नेपाल सरकारको एक स्थानिय तह एक अस्पताल अभियान अन्तर्गत बाग्लुङको बडिगाड गाउँपालिकामा पनि आधारभूत अस्पतालको शिलन्यास गरिएको छ । अस्पतालको कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य मना केसीले शिलन्यास गर्नुभएको हो ।

शिलन्यास कार्यक्रममा बोल्दै केसीले सामान्य स्वास्थ्य समस्यालाई समेत शहरमै जानुपर्ने वाध्यताको अन्त्य हुन लागेको भन्दै अब शहरमा पाउने स्वास्थ्य सेवा गाउँमै उपलब्ध हुने बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकारको सुनिश्चित गर्न स्थानिय तहमा अस्पताल निर्माण गर्नका लागि शिलान्यास गरिएको उहाँको भनाई थियो ।
सोही अवसरमा बोल्दै बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले बडिगाडबासीका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रमुख प्राथमितामा रहेको भन्दै अब सबै नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सक्ने बताउनुभयो । उहाँले स्वास्थ्य उपचारकै लागि यहाँका हजारौँ नागरिकले धेरै वर्षदेखि सास्ती खेपिरहेको स्मरण गर्दै नागरिकको पहुँचसम्म सेवा पुर्याउने जिम्मेवारी आफूहरु माथि रहेको बताउनुभयो ।

सोही अवसरमा अध्यक्ष पाईजाले अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्पूणर् जग्गादाताहरु प्रति आभार व्यक्त गर्नुभयो ।
केन्द्र सरकारले विनियोजन गरेको ८५ लाख रुपैयाबाट हस्पिटल निर्माण हुन थालेको हो । सुरुमा १० शैयाको बन्ने बताइएको छ । स्थानीयले हस्पिटल निर्माणका लागि १० रोपनी जग्गा निशुल्क प्रदान गरेपछि सोमबार शिलन्यास गरिएको हो ।
यसक्षेत्रमा सामान्य स्वास्थ्य उपचारको सेवा समेत नहुँदा स्थानीयहरु पोखरा,पाल्पा,काठमाण्डौ लगायतका स्थानमा जान बाध्य बनेका थिए । भने कयौँ गर्भवती महिलाले अकालमै ज्यान गुमाएका थिए । अस्पताल निर्माणसगैं यस क्षेत्रका नागरिकको स्वास्थ्य समस्या हल हुने गाउँपालिकाले अपेक्षा लिएको छ ।

प्राथमिक स्वास्थ्य अस्पताल बडिगाड ५ रिखेटारि ग्वालीचौरको शिलन्यास कार्यक्रममा कार्यक्रममा बडिगाड गाउपालिका अध्यक्ष मेहरसिह पाईजाको अध्यक्षता, प्रतिनिधिसभा सदस्य मना केसीको प्रमुख आतिथ्यता,स्वास्थ्य मन्त्रालय योजना महाशाखा प्रमुख डा. गुणानिधी घिमिरेको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा १० वटै वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि,बडिगाड गाउपालिका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटी सदस्य शुनिल सेरचन, नेपाली काँग्रेसको तर्फबाट गण्डकी अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । वडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष अर्जुन खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सुचना अधिकारी थम्मन रेश्मीले गर्नुभएको थियो ।




