फाईल फोटो
बागलुङ – बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङमा बिहिबार राती भएको आगलागीबाट स्थानीय बमबहादुर कायतको घर जलेर नष्ट भएको छ ।
विद्युत सट भएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । घरमा आगलागी हुँदा ग्यास सिलिण्डरसमेत पड्कीएको र थियो । कायतको ढुंगाको छाना भएको दुईतले घर पूर्ण रुपमा ध्वस्त भएको भण्डारीको भनाई छ । आगो स्थानीय र प्रहरीले केही बेरपछि नियन्त्रणमा लिएका थिए ।
यस्तै, जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा शुक्रबार बिहान आगलागी हुँदा एक घर जलेको छ । कुश्मिसेरा तल्लोबजारको एक घुम्ती पसलमा आगलागी भएको हो । कमल बिकले सञ्चालन गरेको घुम्ती पसलमा बिहान करिव ७ बजे आगलागी भएको प्रहरीले चौकी कुश्मिसेराका प्रहरी सहायक निरिक्षक दिपक नेपालीले जानकारी दिए ।
आगलागीका कारण बिकको पसलमा रहेको तिहारका सामानहरु, लत्ता कपडालगायत सबै जलेर नष्ट हुँदा करिब २ लाख २० हजार बराबरको क्षति भएको उनको भनाई छ । आगोका कारण घुम्ती नजिकै मंगल परियारले सञ्चालन गरेको शुभकामना टेलर्सको घरमा पनि क्षति पुराएको छ । घरको माथिल्लो तलामा रहेका लत्ताकपडा, खाद्यन्नसहित सामग्री जलेको प्रहरीले जनाएको छ ।
विद्युत सट भएकै कारण आगलागी भएको हो । आगो स्थानीयको सक्रियतामा कुश्मिसेरामा रहेको राष्ट्रिय बाणिज्य बैंक र ग्लोबल आईएमई बैंकको फाएर फाईटिङको सहायताले नियन्त्रणमा लिइएको थियो ।




