जीवन पाण्डे,गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाका एक युवाले कृषि पेशाबाटै राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । गाउँपालिकाको वडा न ४, नदेवाका कृषक मनोज भट्टराईले कृषि पेशाबाटै राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । वैदेशिक रोजगारीका लागि २६ महिना साउदी अरब बसेर फर्किनुभएका भट्टराईले विदेशको दुःख नेपालमै गर्न सक्ने हो भने यही पनि राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।
सुरुमा ३५ लाख लगानी गरी कुखुरा फर्म खोल्नुभएका उहाँले अहिले बार्षिक रुपमा सबै खर्च कटाएर २५ लाख भन्दा बढी आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँको कुखुरा फर्ममा अहिले ३ हजार ५ सय लेयर्स कुखुरा रहेका छन् । कुखुराले दैनिक ३ हजार अण्डा उत्पादन गर्ने गरेको र ती अण्डा गुल्मीको शान्तिपुर, सत्यवती, मुसिकोट तथा बाग्लुङको बरेङ लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ । उहाँले सुरुमा ५५ सय कुखुरा पाल्नुभएको थियो ।
कुखुराले अण्डा पार्न छाडेपछि मासु पनि बिक्री हुने र यस क्षेत्रमा अण्डा उत्पादन गर्ने कृषक नदेखेपछि आफुले नयाँ सोचका साथ लेयर्स कुखुरा पालन थालेको उहाँको भनाई छ । भट्टराई लेयर्स कुखुरा पालन थालेसगैं अहिले सत्यवती गाउँपालिका अण्डा उत्पादनमा आत्मनिर्भर समेत बनेको छ । झण्डै १६ महिना खाडीमा बसेर १६ घण्टा काम गर्दा समेत जम्मा ३० हजार बल्लतल्ल जोगाउने उहाँले कहिलेकाही कुखुरापालनबाट मासिक १५ लाख सम्म आम्दानी गर्न सफल भएको अनुभव सुनाउनुभयो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बीचमा कुखुराको हुदा बजार नपाउने तथा न्यूनतम मूल्यमा विक्री गर्नुपर्दा एक सिजन घाटा बेहोर्नुपरेपनि अहिले भने पुन : राम्रो आम्दानी हुन थालेको उहाँले बताउनुभयो । सडकको हिसाबले पनि सहज रहेकाले कुखुराकोे दाना, औसधी ढुवानीमा सहज भएको भट्टराईको भनाई छ । एक तिहाई विदेशमा खर्चिनुभएका उहाँले रोजगारीको अवसर खोज्दै विदेश भौतारिनुभन्दा गाउँमै कृषि कर्म गरे परिवारसगैं बसेर राम्रो आम्दानी गर्न सकिने सुझाव दिनुभयो ।




