आइतबार राति २ बजेदेखि लगातार परेको पानीका कारण घर माथिबाट खसेको पहिरोले घर पुरिदा एक बालिकाको मृत्यु भएको छ। पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा स्थानीय नवीन विकको घर पुरिँदा उनकी तिन बर्षकी छोरी निकिताको मृत्यु भएको हो । पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृत अवस्थामा फेला पारेका थिए भने घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएको फलेवास प्रहरी चौकीले बताएको छ। राति एकाएक पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी सुरु गरेका थिए ।
पहिरोमा परि विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन् भने स्थानीयवासी रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु पनि मरेका छन्। यस्तै वडाध्यक्ष टीकाराम गौडेलले जानकारी दिए अनुसार करिब १०० रोपनी धानखेतमा क्षति पुगेको छ। पर्वत प्रहरीका प्रवक्ता एवंम् निरीक्षक बुद्धिप्रसाद सुवेदीले दिएको जानकारी अनुसार पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वतखण्ड कुश्मा-८ चुवा, र कुश्मा-१ पाङको सहस्रधारामा राजमार्ग अवरुद्ध भएको छ।




