सुमित्रा कंडेल : पाल्पाको रम्भा–३, पिपल डाँडाका एक जना पुरुषलाई पहिरोले च्यापिएको आशंकामा एक सातादेखि खोजी कार्य जारी रहेको छ । पिपल डाँडाको शिखर डाँडामा गएको पहिरोले सोही स्थानका ३३ वर्षका राजकुमार थापामगर पुरिएको आशंकामा स्थानीय बासिन्दा, प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाले एक सातादेखि खोजी कार्य जारी राखेको छ । उहाको अवस्था हालसम्म पत्ता नलागेको पाल्पाका प्रहरी नायव उपरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो गएको स्थानमा बेपत्ता मगरले बोकेको दाउराको भारी भेटिएपनि राजकुमारको अवस्था भने हालसम्म पत्ता लागेको छैन । “हामीले हप्ता दिनदेखि पहिरो खनेर मान्छे खोजिरहेका छौँ तर अहिलेसम्म भेटाएका छैनौँ” उहाँले भन्नुभयो ।
स्थानीय बासिन्दाले हराईरहेका राजकुमार सोही पहिरोमा च्यापिएको हुन सक्ने आशंका गरेका छन् । गत भदौँ १५ गते घरबाट दाउरा काट्न निस्कनुभएका राजकुमार एक सातादेखि हराईरहनुभएको प्रहरीले जनाएको छ । शसत्र उद्दारमा खटिनुभएका शसत्र बलका प्रहरी निरीक्षक हिराबहादुर बोहोराले पहिरो गएको स्थान अत्यन्त साँघुरो भएका कारण पहिरो हटाउन र खोजी कार्य गर्न समस्या भएको बताउनुभयो ।





