गुल्मी । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको सदरमुकाम नजिकै ७ वटा घर जोखिममा परेका छन् । निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा पहिरो जाँदा घरहरु जोखिममा परेका हुन् ।
पहिरोबाट रामबहादुर खड्का, लक्ष्मी कुवँर, पदम विष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी, दीपक सुनार र विष्णु कुँवरको घर जोखिममा परेका छन् । निर्माणाधीन तम्घास–खाम्सेपानी सडक र तम्घास–नेटा सडकमा पर्ने वस्ती जोखिममा परेका छन्। घर जोखिममा परेपछि उनीहरु छिमेकी तथा आफन्तकहाँ बस्दै आएका छन् । भौगोलिक जोखिमको आँकलन नगरी सडक चौडा पार्ने कामले घरहरु जोखिममा परेको स्थानीयको भनाइ छ ।
जोखिमबारे वर्षौंदेखि सम्बन्धित निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ भएको पीडित पदम विष्टले बताउनुभयो । खानेपानीको पम्पिङ्ग गरिएको स्थानमै पहिरो गएको छ । तम्घासको फोहोर व्यवस्थापन गर्ने स्थान पनि त्यहीँ रहेकाले थप पहिरो गएमा तम्घासको फोहोर मैला व्यवस्थापन गर्नसमेत असहज हुनेछ ।
पहिरो गएको स्थानमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, सडक आयोजनका इन्जिनियर, प्राविधिक, सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी शर्माले तत्काल केही गर्न सकिने काम र वर्षा रोकिएपछि गर्ने कामहरुको बारेमा योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।





