चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साेमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रमुख  प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १३ ओटा मोटरसाइकल र ७ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, ईमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २० ओटा सहित ३८६ ओटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३७ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

आज बुझाइएका २० ओटा सवारी साधनहरू हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए। सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

आर्थिक वर्ष २०७९/०८० मा ४९९ ओटा र ०८०/०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत (जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले अनुरोध  समेत गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय