देशभर सार्वजनिक यातायात ठप्प, यात्रुलाई समस्या

देशभर सार्वजनिक यातायात ठप्प, यात्रुलाई समस्या

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेका छन्।सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गरिएको हो ।

बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ। गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दूरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् ।

यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सात वटै प्रदेशमा नचलाएको जानकारी दिएका छन्। काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ। तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन्।

कोटेश्वर–जडिबुटी क्षेत्रमा यातायात व्यवसायी भेला भएर अवरुद्ध गराएपछि प्रहरी परिचालन भएको छ। ट्याक्सीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले यात्रु ओराल्न खोजेपछि प्रहरी र बन्द गर्दै हिँडेका व्यवसायीबीच धकेलाधकेल भएको छ। अहिले प्रतिक्षालयमा यात्रु अलपत्र भएका छन् । बिहानै क्याम्पस पढ्न हिँडेका विद्यार्थी पनि अलपत्र परेका छन्।स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा रहेका छन्।

गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड शेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो। त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् । व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन यातायात ठप्प पारेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय