मिश्र र प्रसाईसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

मिश्र र प्रसाईसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष समेत रहेका ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव रवीन्द्र मिश्र र समितिले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

मिश्र र प्रसाईसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले मंगलबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए ।

‘जनकमाण्डर’ दुर्गा प्रसाईको नेतृत्वमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी, पार्टी कार्यालय र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।

प्रसाईले गरेको उक्त कार्यक्रमलाई राप्रपा र ‘संयुक्त जनआन्दोलन समिति’ ले पनि समर्थन जनाएका थिए। प्रसाई चैत २९ गते पक्राउ परेका थिए। राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाई तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ। मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री तथा ‘संयुक्त जनआन्दोलन समिति’ का आन्दोलन परिचालन समितिका धवल शम्शेर राणा भने उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका थिए । तर मिश्रमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ।

यस्तो अवस्थामा रवीन्द्र मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मंगलबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।रवीन्द्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले रिट दिएकी हुन्। रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ। प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ। यस रिटको पेसी बुधबारका लागि तोकिएको छ। मिश्रलाई रिहाइ गर्न माग गर्दै राप्रपाले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ भने १२ दिनदेखि ललितपुरको जावलाखेलमा रिले अनसन जारी छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय