श्रीमती मार्न चार लाख ‘सुपारी’ दिए, आफै मारिए चूडामणि

श्रीमती मार्न चार लाख ‘सुपारी’ दिए, आफै मारिए चूडामणि

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धादिङको गजुरी गाउँपालिका–२ मा श्रीमतीको हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएका छन्। प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको खुलेको छ।

चूडामणि कँडेलको दुईतले घरको भुइँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट तथा बाथरुमभित्र शव भेटिएको थियो । घाँटीमा डोरी कसिएको अवस्थामा भुइँमै कँडेलको शव फेला परेपछि अनुसन्धान थालेको प्रहरीले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । कँडेलको हत्या गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका– ९ का ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान पक्राउ परेको धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । ‘प्रजालाई वैशाख ३ गते डुँडेठाँटीबाट, थिङ र मुक्तानलाई वैशाख १६ गते मनहरी गाउँपालिका– ७ बाट पक्राउ गरिएको हो । ‘तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ उनले भने ।

‘मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलवालबीच बोलचालै बन्द हुने गरी सम्बन्ध बिग्रेको रहेछ । आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ ‘सुपारी’ दिएका रहेछन् । प्रजाले पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई पनि साथ लिएका रहेछन्,’ प्रहरी नायब उपरीक्षक हमालले भने, ‘सुस्मितालाई मार्ने धेरै पटक प्रयास गरे । लामो समयसम्म प्रयास गर्दा पनि उनीहरूले सुस्मितालाई मार्न सकेनन् । उनीहरूको योजना विफल बन्यो ।’

प्रहरी नायब उपरीक्षक हमालका अनुसार श्रीमती मार्ने सुपारी लिएकाले काम गर्न नसकेपछि कँडेलले उनीहरूलाई छिटो काम गर्न दबाब दिएका थिए । काम गर्न नसके चार लाख रुपैयाँ फिर्ता गर्न समेत दबाब दिइएको पाइएको छ । धेरै नै दबाब दिएपछि सुपारी दिने कँडेललाई नै मार्ने योजना बनाएर उनको घरमा गएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, घटनामा प्रयोग भएको कोदालो, प्रजाको कोठाबाट कँडेलले दिएको एक लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा, जुत्ता र कम्ब्याट हाफपाइन्ट, अभियुक्तहरूले मृतक कँडेलको फुटाएर फालेको फोन प्रहरीले बरामद गरेको छ । घटनापछि अनुसन्धानको क्रममा अभियुक्तहरूमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थामा एक लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । फरार भएपछि स्थानीय बजारबाट तीनै जनालै एकै किसिमको जुत्ता किनेको समेत प्रहरीले पत्ता लगाएको छ ।

त्यसक्रममा मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवाल बीच सुमधुर सम्बन्ध नरहेको खुलेको थियो । प्रायः उनी सीतापाइलाको घरतिर गएर बस्थिन्, एकैघरमा हुँदा पनि बोलचाल हुन्थेन। कँडेल मारिनु दुई साता अघि मात्र उनी गाउँमा आएर १० दिन बसेर घटना भएकै दिन फर्किएकी थिइन्। त्यही कारण पनि स्थानीयले श्रीमतीमाथि पनि अनुसन्धान गर्न भनेका थिए । तर, जाँचका क्रममा कँडेलकै अर्को आपराधिक योजनाको पटाक्षेप भयो । अहिले कँडेलको श्रीमतीले प्रहरी कहाँ उनीहरूविरुद्ध जाहेरी दिएकी छन् भने पोष्टमार्टपछि परिवारले अन्त्येष्टि गरेका छन् । कँडेल गाउँमा खेती किसानी गर्थे । छोरा क्यान्डामा थिए भने छोरी काठमाडौंमा बसेर पढ्दै थिइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय