नेपाल सरकार र सूचना प्रविधि सम्बन्धी निकायहरूसँग पटक–पटक अनुरोध गर्दा पनि कुनै समाधान नआएको भन्दै, ओशो तपोवनले सर्वोच्च अदालतमा फेसबुक, OIF र सूचना तथा संचार मन्त्रालय तथा दूरसंचार प्राधिकरणलै विपक्षी बनाई सर्वोच्चमा हालेको मुद्दा दरपीठमा गएको छ।
अधिकारिक कार्यालय नेपालमा नभएको कारण देखाउदै यो मुद्दा दरपीठ भएको हो तर नेपालमा विगत देखि नै नेपालका विभिन्न अदालतहरुमा विदेशी कम्पनी तथा सँस्थाहरू माथि मुद्दाहरू चल्दै आएको छ। सो मुद्दा भोलि विहिबार एकल न्यायाधीसको इजलासले सुनुवाई गर्नेछ।
नेपालमा सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा ओशो सम्बन्धित सामग्री सम्प्रेषण गर्ने विभिन्न पेज, अकाउन्ट तथा समूहहरूलाई बिना कारण हटाइएको छ। सोको विरुद्धमा ओशो तपोवनले सर्वोच्च अदालतमा मुद्दा दर्ता जाँदा दरपीठ भएको थियो।
सयौं ओशो शिष्यहरूका व्यक्तिगत तथा संस्थागत पेजहरू ट्रेडमार्क तथा कपिराइट उल्लङ्घनको गलत आरोप लगाउँदै गैरकानुनी रूपमा हटाइएको आरोप लगाइएको छ।
ओशो तपोवनका पेजहरू हटाइयो
ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युनिटीका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणको फेसबुक पेज मेटाले दुई पटकसम्म बन्द गरिसकेको छ। उनका अनुयायीहरूका व्यक्तिगत अकाउन्ट तथा पेजहरू पनि हटाइएका छन्। मेटालाई पटक–पटक निवेदन दिँदा समेत कुनै सुनवाई नभएको भन्दै, ओशो तपोवनले धार्मिक स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको आरोप लगाएको छ।
ओशो ट्रेडमार्क विवाद
OIF ले आफूलाई ओशो सम्बन्धित सामग्रीको आधिकारिक मालिक दाबी गर्दै ओशोसँग सम्बन्धित सामाजिक सञ्जालमा प्रकाशित हुने सामग्रीहरू हटाउने प्रयास गरेको देखिन्छ। तर, अमेरिका, युरोप, भारत तथा नेपालमा कुनै पनि आधिकारिक ट्रेडमार्क OIF लाई प्रदान गरिएको छैन।
• त्यही OIF ले युरोपमा कथित रूपमा ओशोको इच्छापत्र (विल) भनी दर्ता गराएको कागज सन् २०२४ जनवरी २ मा OIF ले फिर्ता लिएको छ।
• सन् १९८९ अक्टोबर १५ मा बनेको भनिएको विल (Will) लाई डिसेम्बर ८, २०१३ मा भारतको पुणे पुलिस स्टेशनमा झूटा कागजात भन्दै OIF विरुद्ध एफआईआर दर्ता गरिएको थियो।
• अमेरिकी कपिराइट कोर्टले OIF सँग ओशोको ट्रेडमार्क हुन नसक्ने निर्णय गरिसकेको छ।
• नेपालमा ‘ओशो’ शब्दमा कसैको ट्रेडमार्कको दर्ता छैन।
• भारतमा OIF ले ओशो ट्रेडमार्क दर्ता गर्न खोज्दा, इन्डियन ट्रेडमार्क अफिसले निवेदन अस्वीकार गरेको छ।
फेसबुक प्रयोगकर्तामाथि असर
तर बारम्बार, OIF ले प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई झूटो दाबी गर्ने प्रयास गरिरहेको छ । ओशोले ध्यान वा भित्री अनुभवहरू प्रतिलिपि अधिकार वा ट्रेडमार्किङ हुन नसक्ने आफ्ना प्रवचनहरूमा बताउनु भएको छ। यसमा कसैको स्वामित्व वा नियन्त्रण हुन नसक्ने कुरा गर्नु भएको छ।
नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या १ करोड ४३ लाख पुगेको छ, जुन देशको कुल जनसंख्याको ४८.१ प्रतिशत हो। फेसबुकको विज्ञापन प्रणालीबाट मात्रै नेपालबाट मेटाले वार्षिक ६० अर्बभन्दा बढी आम्दानी गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ। मेटाले नेपालमा दर्तै नभई आर्थिक कारोबार गरिरहेको छ। फेसबुक प्रयोगकर्तामध्ये ९३ प्रतिशतले इन्टरनेटमार्फत फेसबुक प्रयोग गर्ने हुँदा, अकाउन्ट तथा पेजहरू गलत दाबीका कारण हटाइनु प्रयोगकर्ताका लागि अन्यायपूर्ण रहेको बताइएको छ। ओशो तपोवनका अनुसार, यो कार्य व्यक्तिको धार्मिक तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन हो ।




