शोरुम फुटाएर कार चोरेर भाग्दै गर्दा पेट्राल सकिएपछि …

शोरुम फुटाएर कार चोरेर भाग्दै गर्दा पेट्राल सकिएपछि …

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मोरङ । विराटनगरमा शोरुम फुटाएर नयाँ कार चोरी गरिएको छ । तर चोरी गरिएको कार प्रहरीले फेला पारिसकेको छ । चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपालले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट कार चोरी भएको जानकारी दिए । घटनाका बारेमा प्रहरीले शुक्रबार बिहान ९ बजेतिर जानकारी पाएको थियो ।

घटनाको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । बिहानका राति करिब २ बजेतिर मुख्य गेट खोलेर भित्र छिरेका व्यक्तिले शोरुमको सिसा भएको ढोका फोडेर टाइगुन कार चोरी गरी लगेको सीसी क्यामेरा फुजेटमा देखिने इन्स्पेक्टर ओलीले बताए ।

उक्त कारको मूल्य ८० लाख बढी पर्ने जानकारी शोरुमले प्रहरीलाई दिएको छ । शोरुमबाट चोरी भएको रातो रंगको कार प्रहरीले सुनसरीको इनरुवामा फेला पारेको छ । कार चोरीमा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई सुनसरीको इनरुवाबाट गाडीसहित पक्राउ गरिएको हो । पेट्रोल सकिएपछि बिनले कार अघि बढाउन सकेका थिएनन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिनले शोरुमको सिसा फुटाउन सानो कंक्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ । शोरुमभित्र एउटा मात्रै गाडी रहेको र अन्य सामान नहराएको प्रहरीले जनाएको छ । गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण चोरेर लैजानलाई सजिलो भएको पाइएको इन्स्पेक्टर ओलीले बताए । शोरुममा रहेको सीसी क्यामेराको फुटेजबाट अनुसन्धान सुरु गरिएसँगै चोरीमा संलग्नलाई पक्राउ गरेर कारसमेत फेला पारिएको उनको भनाइ छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय